सुनसरी — ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गढी गाउँपालिकाले सोमबार विशेष कार्यक्रम आयोजना गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मान तथा न्यानो लुगा वितरण गरेको छ। कार्यक्रम गाउँपालिका सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष आशनारायण चौधरीले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यका सबै सेवासुविधामा प्राथमिकता दिलाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, “अपाङ्गता भएका नागरिकहरूलाई आत्मसम्मानसहित सामाजिक जीवनयापन गर्न आवश्यक सहयोग र पहुँच सुनिश्चित गर्नु हाम्रो पहिलो दायित्व हो ।”
उपाध्यक्ष अनिता साहले सामाजिक न्याय र समावेशी विकासका लागि अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन्। “गाउँपालिकाले वर्षेनी बजेटमा सामाजिक सुरक्षा र समावेशी क्षेत्रमा विशेष प्राथमिकता दिएको छ,” उपाध्यक्ष साहको भनाइ थियो।
लेखा अधिकृत दिल बहादुर खड्काले अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्याइने बजेट र कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अपाङ्गता परिचयपत्र, सामाजिक सुरक्षा भत्ता तथा स्वास्थ्य उपचारमा सहजता प्रदान गर्न वित्तीय पक्ष सुदृढ बनाइने बताए।
स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद यादवले स्वास्थ्य सेवा सबैका लागि समान रूपमा उपलब्ध गराउने उद्देश्यअनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई उपचार, फिजियोथेरापी, नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक सहयोगमा प्राथमिकता दिने जानकारी दिए। उनले भने, “गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा ‘कसैलाई नछुटाउने’ नीतिअनुसार सेवा प्रवाह गर्दै आएको छ।”
कार्यक्रममा गाउँपालिका कार्यपालिकाका सदस्यहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति थियो। अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित न्यानो कपडा वितरण गरी कार्यक्रम समापन गरिएको हो।










Discussion about this post