इनरुवा— सुनसरीमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कार्यकर्तामाथि नेपाली कांग्रेस कडा बन्दै गएको छ। कांग्रेस जिल्ला कार्यसमितिले संरचनागत क्षति निम्त्याउने कार्यकर्ताको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ।
बैठकले वडास्तरमै संलग्न व्यक्तिहरूको नामावली संकलन गरी कारबाही अघि बढाउन सर्कुलर पठाएको छ। जिल्ला सभापति केदार भण्डारीका अनुसार “गलतलाई संरक्षण छैन, पहिचान गरी प्रक्रिया अघि बढ्छ” भन्ने नीतिअनुसार कारबाही हुनेछ। प्रदेश महामन्त्री उमेश थापाले पनि दोषीलाई पार्टीबाटै निकाल्ने संकेत दिएका छन्।
जिल्ला प्रशासनको तथ्यांकअनुसार ३३ सरकारी कार्यालयमा मात्रै एक अर्ब १७ करोड रुपैयाँभन्दा बढी क्षति भएको छ। निजी क्षेत्रको क्षति अझै संकलन भइसकेको छैन।
आन्दोलनका क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलको घरसहित धरानमा कांग्रेस–एमाले–माओवादीका पार्टी कार्यालयहरू, जनप्रतिनिधिका निजी घर र भाटभटेनी सुपरमार्केटमा आगजनी तथा तोडफोड भएका थिए। इनरुवामा कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारी र कांग्रेस सभापति भण्डारीको घरसमेत लक्ष्य बनेको थियो।
भदौ २३–२४ का घटनामा इटहरीका मोहन सरदार र अभिषेक श्रेष्ठको मृत्यु भएपछि स्थिति झन् तनावपूर्ण बनेको थियो।
कांग्रेसले अब जनधनको क्षति गराउनेहरूलाई सूक्ष्मरूपमा छानबिन गरी कठोर कदम चाल्ने घोषणा गरेको छ।










Discussion about this post