विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको डीन कार्यालय स्थानान्तरणको विषय राजनीतिक विवादमा फस्दै जनता क्याम्पस परिसर तालाबन्दीमा पुगेको छ। विश्वविद्यालयले डीन कार्यालयलाई गोठगाउँस्थित केन्द्रीय कार्यालयमा सार्ने निर्णय गर्दै केही सामान सारिसकेपछि कांग्रेस–माओवादी निकट विद्यार्थी संगठनले विरोधस्वरूप तालाबन्दी गरेका हुन्।
जनता क्याम्पसको नवनिर्मित भवनमा चारवटा डीन कार्यालय सञ्चालन भएकाले कक्षाकोठाको अभाव भइरहेका बेला विश्वविद्यालयले विद्यार्थी सुविधा हेरेर कार्यालय सार्ने तयारी गरेको थियो। तर, स्थानीय नेता कृष्ण कार्की, बिमल भट्टराई र अखिल क्रान्तिकारीका अमर मण्डलको अगुवाइमा ताला लगाइएपछि कार्य अवरुद्ध भएको उपकुलपति डा. बिजु थपलियाले बताए।
उनीहरूका अनुसार कार्यालय सारिनु भनेकै क्याम्पस सराउने संकेत हो भन्दै विरोध गरिएको छ। तालाबन्दीले कर्मचारी हाजिरीदेखि बस सञ्चालनसम्ममा अवरोध परेको छ। यता, विश्वविद्यालय पक्ष भने “डीन कार्यालय केन्द्रीय कार्यालयकै अंग भएकाले क्रमशः स्थानान्तरण आवश्यक” रहेकोमा अडिग छ।
तालाबन्दीकै कारण डीन कार्यालयमा हुने प्राध्यापक संघको साधारण सभा पनि स्थल परिवर्तन गरी विज्ञान तथा प्रविधि कलेजमा सारिएको छ।










Discussion about this post