सुनसरी । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत (सीएओ) अभावमै संचालन हुँदै आएको कोशी गाउँपालिकामा अब प्रशासनिक रिक्तता समाप्त हुँदैछ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत रहेर अनुभव बटुलेका मनोज मेहता आइतबारदेखि कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दैछन्।
लगातारको प्रशासनिक खालीपनका कारण सेवा–सुविधा, कागजी प्रक्रिया र योजना कार्यान्वयनमा समस्या आइरहेको अवस्थामा मेहताको आगमनलाई गाउँपालिकाले स्थायित्व र सुशासनको सुरुआतका रूपमा लिएको छ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै मेहताले भने “संविधान र विद्यमान कानुनको दायरा भित्र रही पारदर्शी, चुस्त र जनमुखी सेवा प्रवाह मेरा प्राथमिकता हुनेछ। जनप्रतिनिधिसँग सहकार्य गर्दै जनभावनाअनुसार विकासका काम अघि बढाइनेछ। बिगतका सकारात्मक कार्यलाई निरन्तरता दिनेछु।”
उता, गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले मेहताको नियुक्तिलाई स्वागत गर्दै भने “सुनसरीकै अधिकृत भएकाले स्थानीय परिवेश र प्राथमिकता बुझ्न सजिलो हुन्छ। गाउँपालिकाको विकास–निर्माणमा उनी सक्षम सहयात्री बन्ने विश्वास छ।”
मेहताको हाजिरीसँगै लामो समयदेखि रोकिएका प्रशासनिक प्रक्रिया गतिशील बन्ने अपेक्षा गरिएको छ।










Discussion about this post