अविरल यादव / काठमाडौं । सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर ‘आजाद’ ले आज पूर्वाधार तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँग मन्त्रालयमा विशेष भेटघाट गर्दै गाउँपालिकाका दीर्घकालीन पूर्वाधार चुनौती र ऊर्जा पहुँच विस्तारका विषयमा विस्तृत धारणा राखेका छन्।
भेटघाटका क्रममा अध्यक्ष आजादले गाउँपालिकाभित्र हरेक वर्ष सुनसरी खोलाले घर–जग्गा, खेतबारी र किसानहरूको जीवनमा पार्ने विनाशकारी असरबारे मन्त्रीलाई अवगत कराउँदै, तटबन्ध निर्माणलाई अत्यावश्यक र उच्च प्राथमिकतामा राखी तत्काल अघि बढाउन आग्रह गरेका थिए।
अध्यक्ष आजादका अनुसार सुनसरी खोलाको अनियन्त्रित कटानले स्थानीय बस्ती मात्र होइन, कृषि उत्पादन, खाद्य सुरक्षा र गाउँपालिकाको समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। उनले भने, “तटबन्ध नबनेको हरेक वर्ष हाम्रो गाउँपालिकाका किसानले ठूलो क्षति व्यहोर्नुपर्छ। अब यो समस्या समाधान प्राथमिकतामा पर्नैपर्छ।”
यससँगै, अध्यक्षले गाउँपालिकाभित्र विद्युतिकरण विस्तार पनि तत्कालि आवश्यक रहेको उल्लेख गर्दै किसान, उद्यमी र सामान्य उपभोक्ताले सहज र गुणस्तरीय विद्युत् सेवा पाउनुपर्ने माग स्पष्ट रूपमा राखेका थिए।
उनका माग र समस्याहरूलाई मन्त्री कुलमान घिसिङले ध्यानपूर्वक सुनेका छन्। मन्त्री घिसिङले छेउछाउका अन्य संरचनासँग समन्वय गरी केही दिनभित्रै आवश्यक पहल र प्राविधिक प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।
मन्त्रीको यस्तो सकारात्मक प्रतिक्रियापछि गाउँपालिकाबासी र किसानहरूमा राहतको आशा पलाएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।










Discussion about this post