काठमाडौं । नेपाली कांग्रेस सुधार अभियान (यु–४०) ले देशभरका ७७ वटै जिल्लामा संयोजक घोषणा गरेको छ। अभियानको केन्द्रीय संयोजन समितिका तर्फबाट शिव रिमालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सबै जिल्लाका संयोजकहरूको नाम सार्वजनिक गरेका हुन्।
पार्टीभित्र अवसरको न्यायोचित वितरण, युवाहरूको पहुँच, र संगठित सुधारलाई लक्ष्य बनाएको यस अभियानले लामो समयदेखि कांग्रेसभित्र रूपान्तरण र पारदर्शिताका लागि दबाब दिँदै आएको छ।
अभियानले पार्टीका विभिन्न तह—सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग उठाउँदै आएको छ। साथै, पार्टी संरचना र निर्णय प्रक्रियामा युवाको प्रभावकारी उपस्थिति अनिवार्य भएको अभियानको तर्क छ।
यसैबीच, सुनसरी जिल्लाको संयोजकमा युवा नेता धिरज भट्टराईलाई तोकिएको अभियानले जनाएको छ। भट्टराईलाई जिल्लामा संगठन विस्तार, युवाहरूको सहभागिता अभिवृद्धि तथा सुधार अभियानका एजेन्डा स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ।
अभियानले भ्रष्टाचारविरुद्ध कडाइ, सुशासन कायम, र पार्टीका तर्फबाट हुने हरेक पदाधिकारी चयनमा प्राथमिक निर्वाचनको व्यवस्था अनिवार्य गर्नुपर्ने माग पनि दोहोर्याएको छ।
अभियानका संयोजक शिव रिमालका अनुसार, “कांग्रेसलाई आधुनिक, पारदर्शी र युवा–मैत्री बनाउने हाम्रो उद्देश्य हो। सुधारको यो एजेन्डा अब जिल्ला–जिल्लामा तीव्र रूपमा अघि बढाइनेछ।”
नेपाली कांग्रेसभित्र युवा पुस्ताले उठाएका माग र सुधारको आवाज यस अभियानमार्फत अझ संगठित हुँदै देशव्यापी रूपमा विस्तार भइरहेको छ।










Discussion about this post