विराटनगर । मोरङ उद्योग व्यापार संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘विराट ट्रेड एक्स्पो २०२५’ यसपटक जिल्ला प्रहरी कार्यालय मोरङ छेउस्थित खाली मैदानमा गर्ने भएको छ। स्थान टुंगो लगाइसँगै एक्स्पोको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढिएको संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले जानकारी दिएका छन्।
साहका अनुसार प्रदर्शनीका लागि आवश्यक पूर्वाधार निर्माण, स्टल बुकिङ, सुरक्षा व्यवस्था र समग्र व्यवस्थापन सम्बन्धी प्रारम्भिक कामहरू सुरु भइसकेका छन्। यस वर्षको एक्स्पोलाई व्यापार, उद्योग, प्रविधि, कृषि, स्टार्टअप तथा स्थानीय उत्पादनको एकीकृत मंचका रूपमा सांकेतिक बनाउने तयारी गरिएको संघले जनाएको छ।
एक्स्पो आगामी पुष ९ गतेदेखि १९ गतेसम्म चल्नेछ। करिब दश दिनसम्म सञ्चालन हुने यस महोत्सवमा देशभरका किसान, उद्यमी, व्यवसायी, उत्पादन तथा सेवा प्रदायक संस्थाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। साथै केही अन्तर्राष्ट्रिय देशका उत्पादन र ब्रान्ड समेत प्रदर्शनीमा राखिने मोरङ उद्योग व्यापार संघले जनाएको छ।
संघका अनुसार यस वर्षको एक्स्पो अवलोकन गर्न लाखौँ दर्शक भित्र्याउने लक्ष्य लिइएको छ। मनोरञ्जनका कार्यक्रम, बहु–आयामिक सांस्कृतिक प्रस्तुति, नयाँ प्रविधिको प्रदर्शनी तथा स्थानीय उत्पादनको प्रवद्र्धनमुखी स्टलहरू यसपटकका मुख्य आकर्षण हुने बताइएको छ।
आयोजकले, “विराट ट्रेड एक्स्पो २०२५ लाई व्यवस्थित, आधुनिक र सहभागीमैत्री बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ,” भन्दै, यस एक्स्पोले स्थानीय व्यवसाय प्रवद्र्धनसँगै कोशी प्रदेशको समग्र आर्थिक गतिविधि चाँहीनै गतिशील बनाउने विश्वास व्यक्त गरेको छ।










Discussion about this post