सुनसरी । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषयमा छिट्टै नीति टुङ्गोमा पुग्ने बताएका छन् । उनका अनुसार यो विषय अहिले अध्ययन र सुझाव संकलनको चरणमा रहेकाले राजनीतिक दलहरूसँग सहमति बनाएर छिनोफानो गरिनेछ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले पूर्व–व्यवस्थापनको काम सकिएको र अहिले कार्यक्रमहरूलाई कार्यान्वयनतर्फ अघि बढाइएको भण्डारीले बताए । समानुपातिकतर्फ दल दर्ता, प्रत्यक्षतर्फको कार्यक्रम, जिल्लामा बजेट पठाउने, स्थानीय स्तरमै सामान खरिद गराउने जस्ता कामलाई आयोगले प्राथमिकतामा राखेको छ।
आयोगले माग गरेको करिब ९ अर्ब बराबरको बजेट अर्थ मन्त्रालयले मूलतः उपलब्ध गराइसकेको भण्डारीको दाबी छ । आवश्यक परे थप बजेट पनि दिने आश्वासन अर्थमन्त्री र अर्थ सचिवले दिएका उनले बताए । वातावरणमैत्री निर्वाचनका लागि प्रचारप्रसारमा प्लास्टिकजन्य सामग्री न्यूनतम प्रयोग गर्ने तयारी आयोगको छ ।
सवारी साधनको व्यवस्थापन सरकारले गर्ने र भारत तथा चीनले समेत सहयोगस्वरूप सवारी साधन उपलब्ध गराउने वाचा गरिसकेको भण्डारीले जानकारी दिए । उनका अनुसार यही विषयमा सरकारसँग अन्तिम समन्वयको चरण चलिरहेको छ ।
चुनाव नै नहुने हो कि भन्ने संशयबारे प्रश्न सोधिँदा भण्डारीले ११४ वटा दल दर्ता भइसकेको, पाँच समूह एउटै चुनाव चिह्नमा चुनाव लड्न माग गर्दै आएका र एमालेसहित कुनै पनि दलले चुनाव नजाने भनाइ नआएको भन्दै भ्रममा नपर्न आग्रह गरे । सुरक्षा जोखिमको प्रसङ्गमा भने उनले, “निर्वाचन हुन–नहुनभन्दा पनि, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सरकार र सुरक्षाकर्मीको इच्छाशक्तिमा भर पर्छ,” भनेर अघिल्ला निर्वाचन पनि यही शैलीले सफल भएको स्मरण गराए।










Discussion about this post