काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गर्ने तयारी भएको छ। मतदाताको संख्या र अघिल्लो निर्वाचनको अनुभवका आधारमा गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायबीच सहमति जुटाइएको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार यो संख्या प्रारम्भिक हो, आवश्यक परे केही थपघट हुन सक्छ।सुरक्षा जोखिमका आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरिएको छ। जसअनुसार ३ हजार ५१८ मतदानस्थल अतिसंवेदनशील, ४ हजार ५२९ संवेदनशील र २ हजार ८७९ सामान्य मानिएका छन्।
तराईका धेरै जिल्लाहरू अतिसंवेदनशील र संवेदनशीलको सूचिमा परेको बताइएको छ।त्यसैगरी, करिब २२ हजार ३०४ मतदान केन्द्र रहनेगरी तयारी भएको छ। यिनमध्ये ७ हजार १५० मतदान केन्द्र अतिसंवेदनशील, ९ हजार ३२० संवेदनशील र ५ हजार ८३४ सामान्य सूचिमा राखिएका छन्।
यी मतदानस्थल र केन्द्रको सुरक्षाका लागि ३ घेरामा सुरक्षा बल खटाइनेछ। भित्री घेरामा म्यादी र नेपाल प्रहरीले, बीच घेरामा सशस्त्र प्रहरी बलले र बाहिरी घेरामा नेपाली सेनाले निगरानी गर्ने व्यवस्था मिलाइएको छ।
निर्वाचनका लागि करिब १ लाख ३२ हजार म्यादी प्रहरी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यिनलाई ४० दिनका लागि प्रहरी जवान सरह सेवा–सुविधा दिँदै ‘निर्वाचन सुरक्षा प्रहरी’को रूपमा खटाइनेछ।
हालैको जेल तोडफोड, १४ हजारभन्दा बढी कैदी फरार, करिब ५ हजार अझै बाहिर, १ हजार २७१ हतियार र करिब ९८ हजार गोली हराइरहेको तथ्यांकलाई आधार मानेर यसपालि सुरक्षा व्यवस्थालाई विशेष कडा बनाइएको छ। यही संवेदनशीलताका कारण मतदानस्थल र केन्द्रको वर्गीकरण कडा गरिएको गृह स्रोतले जनाएको छ।










Discussion about this post