सुनसरी । भोकाहा नरसिंह गाउँपालिकाले पछिल्लो समय सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन विशेष पहल थालेको छ। सेवाग्राहीले अब विभिन्न सिफारिस, दर्ता तथा राजस्व सम्बन्धी कामका लागि लामो समय पर्खनु नपर्ने गरी कार्यालयले व्यवस्था मिलाएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादका अनुसार गाउँपालिकाको प्रमुख प्राथमिकता नै नागरिकलाई सहज सेवा दिने हो। उनले भने, “गाउँपालिकाको दरबार जनताको घर हो। यहाँ आएका नागरिकले सहज र सन्तोषजनक सेवा पाएनन् भने हाम्रो अस्तित्व नै अर्थहीन हुन्छ। त्यसैले सेवा सुधार हाम्रो पहिलो दायित्व हो।”
अध्यक्ष आजादले थपे, “अब हामी कागजपत्रका फाइलमा मात्र होइन, प्रणालीगत सुधारमा केन्द्रित भएका छौं। अनलाइन दर्ता, सूचना काउण्टर, फिडब्याक प्रणाली र नागरिक चार्टरलाई व्यवहारमा उतार्ने तयारी भइरहेको छ।”यस्तै, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले सेवाग्राहीमैत्री वातावरण बनाउन कर्मचारीहरूलाई नियमित अनुगमन र प्रशिक्षणको दायरामा ल्याइएको बताए। उनले भने, “हामीले कार्यालयमा ‘वन–डोर’ प्रणाली लागू गरेका छौं। जसले सेवाग्राहीको समय बचत गर्छ र फाइल ढिलाइ गर्ने संस्कृतिलाई अन्त्य गर्छ।”
अधिकारीका अनुसार, हाल गाउँपालिकामा जन्म–मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता, कर र सिफारिस सम्बन्धी काम विभिन्न शाखाबाट सहज रूपमा उपलब्ध छन्। साथै, कार्यालय परिसरमा स्वच्छ प्रतीक्षालय, पिउने पानी र सूचनापाटी समेत स्थापना गरिएको छ।
अध्यक्ष आजाद र अधिकृत अधिकारी दुवैले आगामी वर्ष गाउँपालिकालाई पूर्णरूपमा डिजिटल सेवा केन्द्र बनाउने योजना अघि सारेका छन्। त्यसका लागि मोबाइल एपमार्फत नागरिक सेवा जानकारी, अनलाइन भुक्तानी प्रणाली र डिजिटल अभिलेख व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ।भोकाहा नरसिंह गाउँपालिकाको यो पहलले स्थानीय सरकार र जनताबीचको दूरी घटाउँदै ‘सजिलो सेवा, पारदर्शी प्रशासन’ को दृष्टान्त प्रस्तुत गरेको देखिन्छ।










Discussion about this post