इनरुवा — सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालकलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। असोज २५ गते (शनिबार) साँझ करिब ५ः२० बजे प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारी चलाउँदै आएका रामधुनी–२ का ४५ वर्षीय दिनेश कुमार चौधरीमाथि अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घटनापछिको अनुसन्धानका क्रममा स्थानियवासी र परिवारका सदस्यहरूको बयान, प्राविधिक तथ्य तथा अन्य प्रमाणको आधारमा हत्या योजनाबद्ध गरिएको खुलेको छ।
प्रहरीका अनुसार चौधरीले तान्त्रिक क्रिया (तन्त्रमन्त्र) गरेर परिवारका सदस्यलाई दीर्घ समयदेखि बिरामी बनाइरहेको भन्ने आरोप लगाउँदै उनीप्रति असन्तुष्ट रहँदै आएका रामधुनी–१ झुम्काका राजेश उर्फ राजकिशोर साह र नन्द किशोर साहले हमला गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उनीहरूले मोहमद इब्रान मिया लगायतका व्यक्तिसँग रकम लेनदेन गरी चौधरीको हत्या गराउने ‘कन्ट्र्याक्ट’ मिलाएको प्रहरीको दाबी छ। सोही योजनाअनुसार समूहले कर्मनिया टोल नजिकैको नहरछेउको भित्री सडकखण्डमा चौधरीमाथि गोली प्रहार गरिएको अनुसन्धानबाट खुलेको जनाइएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छः
१) जिल्ला सुनसरी, रामधुनी नगरपालिका–१ झुम्का बस्ने ४३ वर्षीय राजेश उर्फ राजकिशोर साह
२) सोही क्षेत्रका ४० वर्षीय नन्द किशोर साह
३) जिल्ला सप्तरी, राजविराज नगरपालिका–१६ का २८ वर्षीय अंकित साह
४) राजविराज नगरपालिका–९ आँखा अस्पताल छेउ बस्ने २८ वर्षीय प्रिन्स कुमार दास
५) जिल्ला सुनसरी, भोक्राहा नरसिंह गाँउपालिका–५ का मोहमद इब्रान मिया
६) जिल्ला सुनसरी, देवानगञ्ज गाउँपालिका–४ का ३७ वर्षीय गियास मन्सुरी
७) देवानगञ्ज गाउँपालिका–५ बस्ने २५ वर्षीय मिथलेश यादव
यी सबैलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीबाट मंसिर १७ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको र योजनामा संलग्न अन्य कोही भए/नभएको, हतियारको स्रोत र आर्थिक लेनदेनको विवरण खोिजिने प्रहरीले बताएको छ।
प्रहरीले अन्धविश्वास, तन्त्र–मन्त्र र व्यक्तिगत रिसइबीका कारण ज्यान जाने खालका घटना नदोहो¥याउन समुदायस्तरमै सचेतना आवश्यक रहेको जनाउँदै यस्ता घटनाबारे समयमै सूचित गर्न स्थानीयलाई आग्रह गरेको छ।










Discussion about this post