इनरुवा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्राथमिक तहका स्वास्थ्यकर्मीका लागि तयार गरेको नसर्ने रोग व्यवस्थापन पुस्तिका अद्यावधिक गर्न एकदिने परामर्श कार्यशाला सम्पन्न गरेको छ। केएचडीसी, एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जेनेभा युनिभर्सिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यशालामा विशेषज्ञ तथा तीन तहका सरकारका प्रतिनिधिहरूले सामग्री सुधारका सुझाव दिएका छन्।
कार्यशालामा प्रस्तुत तथ्यांकअनुसार नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गर्छन् भने २० प्रतिशत मृत्यु अल्पायुमा हुने गरेको उल्लेख छ। अद्यावधिक सामग्री इस्केमिक मुटु रोग, मुटुको विफलता र दीर्घ मृगौला रोग व्यवस्थापनमा केन्द्रित रहने केएचडीसीले जनाएको छ।
प्रतिष्ठानका प्राध्यापकहरूले प्राथमिक तहमै शीघ्र पहिचान र नियमित व्यवस्थापन प्रभावकारी हुने बताउँदै स्थानीय तहलाई जिम्मेवारीसहित कार्यक्रम लागू गर्न सुझाव दिए। सन् २००३ देखि पूर्वी नेपालमा समुदाय–केन्द्रित रूपमा काम गर्दै आएको केएचडीसीले हाल फुङलिङ, मेचनगर र दमकमा कार्यक्रम सञ्चालन गरिरहेको छ।
गत वर्ष मात्र १४ हजारभन्दा बढी उच्च जोखिम समूहको स्वास्थ्य परीक्षण गरिएको छ। परिमार्जित पुस्तिका स्वास्थ्यकर्मीलाई वितरण भएपछि समुदायमा लुकेका विरामी पहिचान, जटिलता न्यूनिकरण र अकाल मृत्यु रोकथाममा ठोस सहयोग पुग्ने प्रतिष्ठानले अपेक्षा गरेको छ।










Discussion about this post