बर्दिबास / रौतहटको चन्द्रपुर नगरपालिका, स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालको सहकार्यमा सक्षम परियोजना अन्तर्गत एकदिने स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। स्वास्थ्य शिविरको उद्घाटन नगर उप–प्रमुख जयमाला कुमारी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्ष, शिक्षा शाखा प्रमुख, GIEN (बालिका तथा समावेशी शिक्षा सञ्जाल) का प्रतिनिधि, शिक्षक, अभिभावक र सहयोगी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
शिविर शुभलाल भागवत माध्यमिक विद्यालय, चन्द्रपुर–८ मा आयोजना गरिएको थियो। प्रारम्भिक अपाङ्गता पहिचान (Early Screening) अभियानका क्रममा चन्द्रपुर नगरपालिकाका ४६ वटा विद्यालयका करिब १५४ जनाभन्दा बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका लागि दृष्टि, सुनाइ, हड्डी, मानसिक तथा मनोसामाजिक क्षेत्रमा सम्भावित कठिनाइ पहिचान गर्ने विज्ञ चिकित्सकहरूको विशेष टोली परिचालन गरिएको थियो।
परीक्षणका क्रममा आवश्यक परेका विद्यार्थीलाई औषधि तथा परामर्श सेवा तुरुन्तै प्रदान गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ। साथै स्वास्थ्य परीक्षणका आधारमा ६५ जनाभन्दा बढी विद्यार्थीमा जटिल स्वास्थ्य समस्या देखिएकाले थप परीक्षण, रेफरल सेवा, अपाङ्गता परिचयपत्र तथा आवश्यक व्यवस्थापकीय–शैक्षिक सेवाको आवश्यकता पहिचान गरिएको हो।
उप–प्रमुख चौधरीका अनुसार चन्द्रपुर नगरपालिकाले पहिलो पटक विद्यालय लक्षित यस्ताे स्वास्थ्य शिविर सञ्चालन गरेको हो। समयमै स्वास्थ्य समस्या पहिचान र समाधानसँगै समावेशी तथा गुणस्तरीय शिक्षामा सुधार ल्याउन शिविर महत्वपूर्ण हुने उनले बताइन्।
सहयोग साझेदारहरू स्ट्रिट चाइल्ड अफ नेपाल तथा आसमान नेपालप्रति धन्यवाद व्यक्त गर्दै उनले निरन्तर सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिन्।










Discussion about this post