सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा तथा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ले उम्मेदवार सिफारिस सूची सार्वजनिक गरेसँगै क्षेत्रीय संगठनभित्र नयाँ विवाद चर्किएको छ। विशेषतः क्षेत्र नं.४ का सभापति ऐयुब अन्सारीकी श्रीमती नगमा शाहिदको नाम समानुपातिक सूचीमा सिफारिस भएपछि कतिपय नेता–कार्यकर्ताले पार्टीभित्र ‘पदीय दुरुपयोग’ र ‘परिवारवाद’ को आरोप लगाउँदै गम्भीर असन्तुष्टि पोखेका छन्।
क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएका प्रतिनिधिसभा प्रत्यक्षका दुई नाम—केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की र गफार अन्सारी—बारे अपेक्षाकृत कम विवाद देखिए पनि समानुपातिक सूचीमा सामेल केही नामले भने पार्टी पंक्तिमा तरंग सिर्जना गरेको हो। विशेषतः नगमा शाहिदको सिफारिसलाई लिएर कांग्रेसभित्रको आन्तरिक गलफती सतहमा आएको छ। कार्यकर्ताहरूले सभापतिकै पदौवादका कारण परिवारका सदस्यलाई प्राथमिकता दिएको भन्दै गुनासो बढाएका छन्।
पार्टीभित्रका केही नेताहरू भन्छन्, “समानुपातिक सूचीमा योग्य र लामो समयदेखि पार्टीमा योगदान पुर्याउँदै आएका धेरै कार्यकर्ताको नाम समेट्न नसकिँदा निराशा छ। तर क्षेत्रीय सभापतिकी श्रीमतीलाई सिफारिस गर्नु नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउने विषय हो।” उनका अनुसार सिफारिस प्रक्रियामा पारदर्शिता कम देखिएको र शक्ति तथा पहुँचको प्रभाव बढी देखिनुले संगठन भित्रको अनुशासन कमजोर भइरहेको छ।
यता सभापति ऐयुब अन्सारी पक्षका नेता–कार्यकर्ताहरू भने नगमा शाहिदलाई पार्टीभित्र सक्रिय, सक्षम र समाजसेवामा क्रियाशील महिला नेताका रूपमा मूल्यांकन गर्दै सिफारिसमा कुनै ‘अस्वाभाविकता’ नरहेको तर्क गर्छन्। उनीहरूका अनुसार, “नगमा शाहिदले महिला सशक्तिकरण, समुदाय विकास र पार्टीको संगठन विस्तारमा निरन्तर भूमिका खेलेकी हुन्। योग्य व्यक्तिको नाम अगाडि बढाउनु कुनै गलत कुरा होइन।”
तर आलोचकहरू भन्छन्—योग्यताभन्दा पदको दुरुपयोग गरेर परिवारकै सदस्यलाई प्राथमिकता दिने प्रवृत्तिले पार्टीभित्र नकारात्मक सन्देश जान्छ। उनीहरूको आशंका छ, यसरी सुरु भएको परिवारवादले भावी नेतृत्व विकास र आन्तरिक लोकतन्त्रमा प्रतिकूल प्रभाव पार्छ।
पार्टीका केही कार्यकर्ताहरूले क्षेत्रीय बैठकमै सभापति अन्सारीसँग प्रश्न सोधेको बताइएको छ। उनीहरूले सिफारिस सूची बनाउने प्रक्रिया, मान्य मापदण्ड, कार्यसमितिको औपचारिक निर्णय र सहमतिको आधारबारे स्पष्टता माग गरेका छन्। तर सभापति पक्षका सदस्यहरू प्रक्रिया निर्धारित नियमअनुसार नै चलाइएको भन्दै विवादलाई अनावश्यक रुपमा बढाइएको दाबी गर्छन्।
यसबीच, सिफारिस सूचीमा परेका अन्य नेताहरू—जस्तै अबुलहुसेन अन्सारी, जमिल अख्तर मियाँ, इर्फान मियाँ, प्रमोद खेरवार, उपेन्द्रबहादुर कटुवाल र अल्लाउद्दिन हुसेन—सम्बन्धी सामान्य राजनीतिक चर्चा भए पनि ती विवादका मूल कारण बन्न पुगेका छैनन्। तर नगमा शाहिदको नामले सृजना गरेको असन्तुष्टि भने तीव्र रूपमा व्यापक बन्दै गएको देखिन्छ।
राजनीतिक विश्लेषकहरूको भनाइ छ कि कुनै पनि पार्टीभित्र सिफारिस प्रक्रिया संवेदनशील मानिन्छ । किनभने यसले पार्टीको आन्तरिक लोकतन्त्र, भागीदारी र संगठनिक समायोजनलाई प्रतिनिधित्व गर्छ। “जहाँ नेतृत्वले आफ्नै परिवारलाई प्राथमिकता दिन्छ, त्यहाँ संगठनभित्र अविश्वास बढ्ने सम्भावना रहन्छ,” एक स्थानीय विश्लेषकले भने, “यसले आगामी निर्वाचनमा कार्यकर्ताको मनोबलमा समेत असर पार्न सक्छ।”
सुनसरी–४ मा देखिएको विवाद अब जिल्ला समितिसम्म पनि पुग्ने आकलन गरिएको छ। केही कार्यकर्ताहरूले जिल्ला सभापति, प्रदेश समितिलगायत उच्च नेतृत्वलाई ज्ञापन बुझाउने तयारीसमेत गरेका छन्। यद्यपि, अर्को पक्षले भने यसलाई पार्टीभित्रको सामान्य बहस भन्दै मिलापैठारबाट समाधान खोजिने विश्वास व्यक्त गरेको छ।
आगामी केही दिनमा केन्द्रीय कार्यालयमा सिफारिस सूची पुगेपछि मात्र अन्तिम निर्णय हुने भएकाले विवाद थप बढ्ने वा शान्त हुने भन्ने निर्धारण त्यहीअनुसार हुनेछ। तर हालको अवस्थाबाट हेर्दा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को आन्तरिक वातावरण शान्त छैन, विशेषतः सभापति ऐयुब अन्सारी परिवार सम्बन्धित विवादले पार्टीभित्र नयाँ शक्ति–सन्तुलनमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।










Discussion about this post