विराटनगर । नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा मोरङ जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्षी नेताहरूको चहलपहल बढेको छ। विराटनगरलाई केन्द्र बनाएर सक्रिय पाँच नेताले केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गर्ने तयारी थालेका छन्।
मोरङबाट केन्द्रीय कमिटीमा दाबी गर्ने सात जना नेतामध्ये बहुमत विराटनगरकै हुन्। उनीहरू काठमाडौँस्थित भृकुटीमण्डपमा हुने महाधिवेशनका लागि उमेदवारी दर्ताको फारम लिनेसम्मको तयारीमा जुटिसकेका छन्। यद्यपि, कुन नेता कुन समूहबाट मैदानमा उत्रने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
केन्द्रीय सदस्य पदमा आकांक्षा राख्ने मोरङका नेताहरूमा नरेश पोखरेल, ऋषिकेश पोखरेल, सत्यनारायण चौधरी, पर्शुराम बस्नेत, शान्ति लिम्बु, विमला दाहाल घिमिरे र खेम नेपाली रहेका छन्। यसैबीच, सचिव पदका लागि बिनोद ढकालको दाबी पहिलेदेखि नै चर्चामा रहँदै आएको छ।
अर्कोतर्फ, यसअघि नै केन्द्रीय कमिटीमा रहेकाहरू पनि पुनः दोहोरिने तयारीमा देखिएका छन्। जीवन घिमिरे, युवराज बास्कोटा, रामलाल साह र मोती दुगड पुनः केन्द्रीय सदस्य बन्ने दौडमा छन्।
महाधिवेशन नजिकिँदै जाँदा मोरङ, विशेषतः विराटनगर केन्द्रित नेताहरूको सक्रियताले एमालेको आन्तरिक राजनीतिक समीकरण थप रोचक बन्दै गएको छ।










Discussion about this post