विराटनगर । कक्षाकोठामा सिकेको ज्ञानलाई खेतबारीसँग जोड्दै जीवन विकास पब्लिक स्कुलका विद्यार्थीहरू उत्पादनमुखी अभ्यासमा जुटेका छन् । ‘पढ्दै कमाउँदै’ अभियान अन्तर्गत कक्षा ११ र १२ का २४ विद्यार्थीले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् ।
कापी–कलमसँगै कोदालो समात्दै विद्यार्थीहरूले करिब ३ कट्ठा जग्गामा आलु र लसुन रोपेका छन् । बीउबिजन र प्राविधिक ज्ञान जीवन विकास लघुवित्त वित्तीय संस्थाले उपलब्ध गराएको छ भने खेतीको सम्पूर्ण रेखदेख विद्यार्थीहरूले नै गर्नेछन् ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलका अनुसार विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै कृषि उत्पादन र आत्मनिर्भरतातर्फ उन्मुख गराउन अभियान सञ्चालन गरिएको हो ।
यस्तै, ‘पढ्दै कमाउँदै’ अभियानको दायरा ग्रामीण क्षेत्रमा पनि विस्तार गरिएको छ । धनपालथान गाउँपालिका–४ स्थित हंशबाहिनी आधारभूत विद्यालयका १३ जना अति विपन्न विद्यार्थीलाई जीवन विकासले बिउ पूँजीका रूपमा कुखुराको चल्ला सहयोग गरेको छ । मंगलबार प्रत्येक विद्यार्थीलाई ८ वटाका दरले चल्ला वितरण गरिएको हो ।
उद्यमशीलता प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर जीवन विकास लघुवित्तले छुट्टै विभाग स्थापना गरी यस्तो अभियान निरन्तर अघि बढाइरहेको जनाएको छ । शिक्षा, सीप र आयलाई एकसाथ जोड्ने यो अभ्यासले विद्यार्थीमा आत्मनिर्भरता र व्यवसायिक सोच विकास गर्ने विश्वास लिइएको छ ।










Discussion about this post