किशोर लुइँटेल/इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अब दैनिक रूपमा राष्ट्रिय गानसँगै सेवा सुरू भएको छ। यसअघि सार्वजनिक कार्यक्रम, औपचारिक सभा तथा अन्य सरकारी गतिविधिहरू राष्ट्रिय गानबाट सुरू गर्दै आएको गाउँपालिकाले उक्त अभ्यासलाई थप विस्तार गर्दै कार्यालयको नियमित सेवाप्रवाह पनि राष्ट्रिय गानबाट सुरू गर्ने निर्णय गरेको थियोे।
गाउँपालिका कार्यालयका अनुसार अब हरेक कार्यदिवसमा बिहान ठीक १०:०५ बजे राष्ट्रिय गान गायनपछि मात्र सेवा प्रवाह सुरू गरिनेछ। यो व्यवस्था बिहीबारदेखि लागू गरिएको छ।
गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले राष्ट्रिय गान राष्ट्रको पहिचान, स्वाभिमान र सम्मानको प्रतीक भएको उल्लेख गर्दै सेवा सुरू हुनुअघि राष्ट्रिय गानमा सहभागी गराउँदा कर्मचारी तथा सेवाग्राहीमा अनुशासन, समयपालन र राष्ट्रप्रेमको भावना थप सुदृढ हुने बताउनुभएको छ ।
“यस निर्णयले कार्यालयमा समयमै उपस्थित हुने संस्कार विकास गर्नुका साथै सेवाप्रवाहलाई अझ मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउने विश्वास लिएका छौँ,” अध्यक्ष आजादले बताउनुभयो ।
गाउँपालिकाका कर्मचारीहरूका लागि राष्ट्रिय गान गायन अनिवार्य गरिनेछ भने सेवाग्राहीलाई पनि सहभागी हुन आग्रह गरिने गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा राष्ट्रिय भावना प्रवर्द्धन गर्ने यो कदमलाई स्थानीयवासी तथा युवा नेता सेराज हुसेन, पंकज यादव, सन्ताेष मण्डल लगायतकाले सकारात्मक रूपमा लिएका छन्।
भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले सुशासन, अनुशासन र सेवामैत्री प्रशासनलाई प्राथमिकतामा राख्दै यो अभ्यास गाउँपालिकाअन्तर्गतका आठै वटा वडा कार्यालय, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा पशु सेवा केन्द्रमा समेत निरन्तर लागू गरिने जनाएको छ।










Discussion about this post