विराटनगरका दुई चर्चित क्यासिनोमा मोरङ प्रहरीले आइतबार राति एकसाथ छापा हानेपछि क्यासिनो क्षेत्रमा हलचल मच्चिएको छ । होटल बिगमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र होटल रत्नामा रहेको गोल्डेन क्यासिनो बाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बाँकी ३ जना क्यासिनोका कर्मचारी भएकाले उनीहरूमाथि थप अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
छापाका क्रममा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व डाइरेक्टर तेजराज गिरी पनि पक्राउ परेका छन् । त्यसैगरी गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्र बहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा रोशन गिरी, अनिसराज लामा, आदेश बिक, घनश्याम शर्मा, सन्तोष बस्नेत, मो. जाकिर हुसैन, विवेक कुमार मण्डल, कृष्ण कुर्मी, रुपेश दाहाल, सुरज राय, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, हरि भट्टराई र सुरेन्द्र बहादुर चन्द रहेका छन् । हरि भट्टराई होटल बिगका सञ्चालकसमेत हुन् ।
विराटनगरमा लामो समयदेखि नेपाली नागरिकहरू क्यासिनो प्रवेश गर्दै आएको गुनासो रहँदै आएको थियो । प्रहरीले अचानक छापा हानेपछि क्यासिनो क्षेत्रमा सन्नाटा छाएको छ । यसैबीच क्यासिनोमा प्रवेश गर्ने तर पक्राउबाट जोगिएका केही व्यक्तिहरू भने जिल्ला प्रहरी कार्यालय वरपर पुगेर घटनाबारे बुझिरहेका देखिएका छन् ।










Discussion about this post