काठमाडौँ — राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज माघ ११ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने गरी सबै आवश्यक तयारी पूरा भइसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएअनुसार १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूह अन्तर्गतको एक पदमा भने उम्मेदवार निर्विरोध चयन भइसकेका छन्। उक्त पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि आज मतदान प्रक्रिया सञ्चालन भइरहेको छ।
मतदानका लागि सातै प्रदेशमा छुट्टाछुट्टै मतदानस्थल र मतदान केन्द्र तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, तथा बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान केन्द्र बनाइएको छ।
त्यस्तै, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराहीको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशमा धनगढी कैलालीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुने व्यवस्था मिलाइएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाताका रूपमा सहभागी हुने कानुनी व्यवस्था छ।










Discussion about this post