काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन राष्ट्रिय सूचना आयोगले सबै सरोकारवाला निकायलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले निर्वाचनको समयमा फैलिन सक्ने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाह सत्य, तथ्य र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता तथा सूचना आयुक्त गगन विष्टले निर्वाचनसम्बन्धी सूचना समयमै, स्पष्ट र सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए। साथै, गलत र भ्रामक सूचनामाथि प्रभावकारी निगरानी र नियमनका लागि सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न पनि उनले आग्रह गरे।
उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा अझ प्रभावकारी बनाउन, बहुभाषिक माध्यम प्रयोग गरेर सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न सुझाव दिए।
आयुक्त विष्टले राजनीतिक दल र उम्मेदवारलाई तथ्यमा आधारित सूचना मात्र सार्वजनिक गर्न निर्देशन दिँदै गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न चेतावनी दिए। साथै, दलहरूले निर्वाचनसम्बन्धी सूचना प्रवाहका लागि सूचना अधिकारी तोक्नुपर्ने उल्लेख गरे।
सञ्चारमाध्यमलाई सम्बोधन गर्दै उनले निर्वाचनसम्बन्धी समाचार प्रकाशन तथा प्रशारण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न निर्देशन दिए। कुनै पनि दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारको रूपमा प्रस्तुत नगर्न तथा सशुल्क प्रचार–प्रसार नगर्न समेत सचेत गराइएको छ।
त्यस्तै, सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नु अघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न आग्रह गरिएको छ। भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन पनि आयोगले अनुरोध गरेको छ।










Discussion about this post