काठमाडौं — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मत बदर हुने समस्या न्यूनीकरण गर्न निर्वाचन आयोग सक्रिय बनेको छ। मतदातालाई सचेत बनाउने उद्देश्यसहित आयोगले मतदाता शिक्षा कार्यक्रमलाई अब स्थानीय तह हुँदै वडास्तरसम्म विस्तार गरेको छ।
यसअघि डिजिटल माध्यममा सीमित रहेको मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ आयोगले माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। कार्यक्रमअन्तर्गत देशभरका प्रत्येक स्थानीय तहका सबै वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगका अनुसार मतदातालाई मतदान प्रक्रिया, सही तरिकाले मत सङ्केत प्रयोग गर्ने विधि तथा सामाजिक सञ्जालमा फैलिने मिथ्या सूचना पहिचान गर्न सक्षम बनाउनेमा यो कार्यक्रम केन्द्रित हुनेछ। यसले मत बदर हुने अवस्था घटाउनुका साथै मताधिकारको सही प्रयोग सुनिश्चित गर्न मद्दत पुग्ने आयोगको विश्वास छ।
स्वयंसेवक छनोट गर्दा स्थानीयस्तरमै कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट सम्बन्धित निर्वाचन कार्यालयमार्फत प्रक्रिया अघि बढाइनेछ।
यस्तै, मतदाता शिक्षा सामग्रीको उत्पादन र प्रसारणलाई प्रभावकारी बनाउन आयोगले सरकारी स्वामित्वका सञ्चारमाध्यम तथा नियामक निकायसँग सहकार्य विस्तार गरेको छ। यसअन्तर्गत राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड र प्रेस काउन्सिल नेपालसँग सम्झौता भइसकेको आयोगले जनाएको छ।
आयोगले यस प्रकारको व्यापक मतदाता शिक्षामार्फत स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ। निर्वाचनमार्फत प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० गरी कुल २७५ सदस्य निर्वाचित हुने व्यवस्था छ।










Discussion about this post