इनरुवा । आगामी फागुन २१ गते तय गरिएको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङ ले सुरक्षा व्यवस्था थप कडा बनाएको छ। निष्पक्ष, शान्त र भयरहित वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यसहित प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन सार्वजनिक आह्वान गरेको थियो।
सो आह्वानपछि हालसम्म जिल्लाभरका १२१ जना नागरिकले आफ्ना हतियार नजिकका प्रहरी इकाईहरूमा बुझाइसकेको जानकारी प्रशासनले दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज काईराला का अनुसार निर्वाचन अवधिमा हुन सक्ने सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न तथा हतियारको दुरुपयोग रोक्न यो कदम चालिएको हो।
उनले निर्वाचनका बेला हतियारको प्रदर्शन वा प्रयोगले मतदातामा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हतियार संकलन अभियान सञ्चालन गरिएको बताए। संकलित १२१ वटा हतियारले निर्वाचन सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास प्रशासनको छ।
प्रशासनका अनुसार संकलित सबै हतियार निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म सम्बन्धित प्रहरी कार्यालयको सुरक्षित निगरानीमा राखिनेछन्। निर्वाचन सकिएपछि कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई हतियार फिर्ता गरिने जनाइएको छ। साथै, हालसम्म हतियार नबुझाएका नागरिकलाई यथाशीघ्र बुझाउन प्रशासनले पुनः अनुरोध गरेको छ।










Discussion about this post