सुनसरी । इटहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “हामी आयौँ” उद्घोष सभा यसपटक केही फरक दृश्यसहित सम्पन्न भयो। इटहरी–१७ स्थित भाटभटेनी पश्चिम खुला चउरमा आयोजित कार्यक्रममा युवाभन्दा बढी वृद्धवृद्धा आमाबुबाको उल्लेख्य उपस्थिति देखियो, जसले माहोललाई विशिष्ट बनायो।
निलो भेष्ट र क्यापमा सजिएका स्वयंसेवकहरूले असक्त तथा ज्येष्ठ नागरिकलाई सहज बसाइको व्यवस्था मिलाएका थिए। अगाडि कुर्सीमा वृद्धवृद्धा, पछाडि युवा र विद्यार्थी कार्यक्रम निकै व्यवस्थित र अनुशासित देखिन्थ्यो। कतिपय समर्थकहरू घरको छत र बार्दलीबाट घन्टी र झण्डा हल्लाउँदै उत्साह थपिरहेका थिए।
सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह प्रमुख आकर्षण बने। उनीहरू आउनुअघि पूर्वी जिल्लाका उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता सार्वजनिक गरे।

सांगीतिक र हास्य प्रस्तुतीले कार्यक्रमलाई थप जीवन्त बनायो। गायक प्रकाश सपुतले कविता र गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध पारे भने कलाकार अर्जुन घिमिरेले हाँसो छरे। जब रवि र बालेन सभास्थल पुगे, हुटिङ र घन्टीको आवाजले चउर गुन्जायमान भयो। थारु संस्कृतिको गम्छा ओढाएर स्वागत गरिएका दुवैले सांस्कृतिक बाजामा समेत साथ दिए र कार्यक्रम उत्साह, अनुशासन र फरक स्वादसहित स्मरणीय बन्यो।












Discussion about this post