इनरुवा । हिक्मत कुमार कार्कीले होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्र निर्माणका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।
मुख्यमन्त्री कार्कीले वर्तमान जटिल राजनीतिक परिस्थितिमा मुलुकलाई सही दिशातर्फ अघि बढाउन राष्ट्रिय शक्तिहरूबीच सहकार्य र एकता अपरिहार्य रहेको बताएका छन्। उनका अनुसार, राष्ट्रको समृद्धिका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने समय आएको छ।
रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधको सन्देश दिने उल्लेख गर्दै उनले भ्रम र निराशा फैलाउने प्रवृत्तिलाई परास्त गरी सकारात्मक सोच र ऊर्जा फैलाउन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले प्रत्येक नागरिकले आफ्नो विवेक, बुद्धि र क्षमताको सदुपयोग गर्दै राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका छन्। ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय लक्ष्य हासिल गर्न होलीले नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने उनको भनाइ छ।
नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक देश भएकाले यहाँका मौलिक परम्परा, संस्कृति र चाडपर्वहरूले राष्ट्रिय एकता सुदृढ बनाउँदै आएको उनले उल्लेख गरेका छन्।










Discussion about this post