इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग भइरहेको गाडीबाट मदिरा र खाद्यान्न बरामद भएपछि सल्यानमा विवाद चर्किएको छ।
बनगाड–कुपिण्डे नगरपालिकाअन्तर्गत सल्लिबजार क्षेत्रमा सोमबार बिहान खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०१–०१८ च ०४२९ नम्बरको बोलेरो जीपलाई प्रहरीले रोकेर जाँच गर्दा मदिरा र खाद्य सामग्री फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार गाडीबाट ७ कार्टुन रक्सी, २ कार्टुन बियर, २ बोरा चामल र ३ कार्टुन खाने तेल बरामद गरिएको छ।
प्रहरीका अनुसार उक्त सवारी साधनमा पार्टीका झण्डा, ब्यानर र साउण्ड सिस्टमसमेत जडान गरिएको थियो, जसले गाडी प्रचारप्रसारमै प्रयोग भइरहेको पुष्टि गर्छ। मतदानको मिति नजिकिँदै गर्दा यस्ता सामग्री ओसारपसार हुनु निर्वाचन आचारसंहिताविपरीत हुन सक्ने भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन्। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।
गाडी चालक नन्द रानाले भने बरामद सामग्री स्थानीय व्यापारीको ढुवानीका लागि खैरागार लैजान लागिएको दाबी गरेका छन्। ती सामग्री कृतिबहादुर रानाको भएको बताइएको छ। यता रास्वपा बनगाड–कुपिण्डे नगर सभापति लोकेन्द्र वलीले प्रचारमा प्रयोग भएको गाडीमा यस्तो सामग्री भेटिनु चालकको कमजोरी भएको प्रतिक्रिया दिएका छन्। उनले पार्टीलाई यसबारे जानकारी नभएको र घटना अन्जानवश भएको हुनसक्ने बताएका छन्।
तर केही स्थानीयले भने नियतवश नै मतदातालाई प्रभावित पार्ने उद्देश्यले सामग्री राखिएको आशंका व्यक्त गरेका छन्। हाल उक्त गाडी र बरामद सामग्री प्रहरी नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।










Discussion about this post