काठमाडौं — श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइन प्रयोगलाई हटाएर झोलुङ्गे पुल निर्माण गर्ने अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पुल निर्माणका लागि देशभरका नागरिकलाई श्रमदानका लागि तयार रहन आग्रह गरेका हुन्।
साम्पाङका अनुसार पुल निर्माण हुने स्थानको भौगोलिक अवस्था र प्राविधिक पक्षबारे जानकारी लिन अग्रिम टोली त्यस क्षेत्रमा पठाइसकिएको छ। टोलीबाट प्राप्त विवरणपछि आफू पनि निर्माण स्थलमा पुग्ने योजना रहेको उनले बताए।
उक्त क्षेत्र दुर्गम भएकाले मोटर बाटो नपुगेको र त्यसकारण डोजर, क्रसरलगायतका भारी उपकरण लैजान सम्भव नभएको साम्पाङले स्पष्ट पारे। बिजुलीको सुविधा नभएकाले ड्रिल मेसिन प्रयोग गर्न नसकिने र जेनेरेटर समेत बोक्न कठिन हुने उनको भनाइ छ।
त्यसैले पुल निर्माणका अधिकांश काम हातैले गर्नुपर्ने अवस्था रहेको उनले बताए। श्रमदानमा सहभागी हुनेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बल जस्ता औजार प्रयोग गरेर ढुङ्गा फुटाउनेदेखि बाटो खन्नेसम्मका काम गर्नुपर्नेछ।
साम्पाङका अनुसार यस्तो परिस्थितिमा पुल निर्माण सम्पन्न गर्न करिब १५ देखि २० दिनसम्म लाग्न सक्छ। साथै उनले आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई कम्तीमा १० रुपैयाँदेखि आफ्नो क्षमता अनुसार सहयोग गर्न पनि आग्रह गरेका छन्।










Discussion about this post