सुनसरी । इटहरीमा शनिबार एक विशेष माहोल सिर्जना भयो, जहाँ ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मार्फत विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानित गरियो। नयन मिडिया फाउण्डेशनको आयोजनामा सम्पन्न कार्यक्रममा १६ विधामा सक्रिय र प्रेरणादायी काम गर्ने व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको हो।
कार्यक्रममा कृषि क्षेत्रमा डिल्लीराज उप्रेती, शिक्षामा उमेश श्रेष्ठ, स्वास्थ्यमा डा. वीरेन्द्र विष्ट र समाजसेवामा दिनबन्धु गोयल सम्मानित भए। पत्रकारितातर्फ अखण्ड भण्डारी र साहित्यमा अनिल पौडेलले अवार्ड प्राप्त गरे भने खेलकुद क्षेत्रमा अञ्जिला तुम्बापो सुब्बा र सूचना प्रविधिमा सरोज राउत पुरस्कृत भए।
यसैगरी अटोमोबाइल क्षेत्रमा विष्णुकुमार अग्रवाल, संगीतमा प्रमोद खरेल, बैंकिङमा सन्तोष कोइराला, बीमातर्फ सन्तोष प्रसाई र पुँजी बजारमा चूडामणि चापागाईंलाई पनि अवार्ड प्रदान गरियो। कर्पोरेट क्षेत्रमा मोती दुगड, उद्यमशीलतामा रक्तिम जोशी प्याकुरेल र स्टार्टअप विधामा नरकुमार श्रेष्ठले सम्मान पाए।
कार्यक्रममा केही संस्थागत र व्यक्तिगत योगदानलाई विशेष रूपमा कदर गर्दै जनता बहुमुखी क्याम्पस इटहरीसहित विभिन्न व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
अवार्ड वितरण कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली तथा उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष पवन अधिकारीले यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोच, प्रतिस्पर्धा र नवीनताको भावना विकास गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार, कोशी प्रदेश सम्भावनाले भरिपूर्ण क्षेत्र भएकाले यहाँका विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ।
कार्यक्रमकै अवसरमा सुनसरीका करिब ३०० सञ्चारकर्मीहरूलाई निःशुल्क दुर्घटना बीमाको व्यवस्था समेत गरिएको थियो, जसले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको छ।










Discussion about this post