सुनसरी । इटहरीको मैदानमा आइतबार फुटबलप्रेमीहरूका लागि रोमाञ्चक क्षण बन्यो, जहाँ स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकपको तेस्रो संस्करणको उपाधि उदयपुरको बसाह क्लबले आफ्नो नाममा पार्यो। कडा प्रतिस्पर्धाबीच भएको फाइनल खेलमा बसाहले लोहोरुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै ट्रफी उचाल्न सफल भयो।
जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। तर दोस्रो हाफमा कप्तान रितेश तामाङले २६ औं मिनेटमा गरेको एकमात्र गोल नै खेलको निर्णायक बन्यो। यही गोलले बसाहलाई विजयी बनाउँदै दर्शकहरूलाई उत्साहित बनायो।
उपाधिसँगै बसाह क्लबले ४ लाख ४ हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता लोहोरुङले २ लाख २ हजार २ सय रुपैयाँमा चित्त बुझाउनुपर्यो। यद्यपि, लोहोरुङका मिलन लिम्बूले उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच’ बन्न सफल भए र ५ हजार ५ सय रुपैयाँसहित मेडल जिते।
खेलका नायक रितेश तामाङले व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ‘सर्वोत्कृष्ट खेलाडी’ र ‘सर्वाधिक गोलकर्ता’ दुवै उपाधि जिते। उनले क्रमशः २० हजार र १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
अन्य विधागत पुरस्कारतर्फ बसाहका सन्दीप भट्टराई उत्कृष्ट गोलकिपर, मञ्जिल खड्का उत्कृष्ट डिफेन्स र केशव राई उत्कृष्ट प्रशिक्षक घोषित भए। लोहोरुङका विवेक राई उत्कृष्ट मिडफिल्डर बने भने आयोजक ‘द योङ ब्रदर्श क्लब’का सविन घिमिरे उदयमान खेलाडी घोषित भए। सबै विधागत उत्कृष्ट खेलाडीहरूले जनही १३ हजार रुपैयाँ पुरस्कार पाए।
फागुन ३० गतेदेखि सुरु भएको यस प्रतियोगितामा एक भारतीय टिमसहित कुल ८ टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विजय लिम्बूले जानकारी दिए।










Discussion about this post