काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभन देखाएर मानिसबाट रकम ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुन बहादुर पौडेल (३६) कीर्तिपुर, डिल्ली राम भुजेल (४६) महालक्ष्मी–ललितपुर, उमा गुरुङ (४३) काठमाडौं, आशिष महत (३३) ललितपुर र संगिता श्रेष्ठ (३५) भक्तपुर रहेका छन्।
प्रहरीका अनुसार, अर्जुनले क्रोएशियामा पठाइदिन्छु भनी ३ लाख ३० हजार रुपैयाँ लिएको, डिल्लीले माल्दिभ्स पठाइदिन्छु भन्दै २ लाख ९९ हजार, उमाले बेलायत पठाइदिन्छु भन्दै २ लाख, आशिषले बेलायतको प्रलोभनमा २३ लाख, र संगिताले पोर्चुगल पठाइदिन्छु भन्दै ३ लाख ६८ हजार रुपैयाँ ठगी गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका टोलीले पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले उमा र संगितालाई काठमाडौं–१२, आशिषलाई काठमाडौं–१०, अर्जुनलाई काठमाडौं–४ र डिल्लीलाई काठमाडौं–९ बाट पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।










Discussion about this post