सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज सम्पन्न सूचना अधिकारिहरूको बैठकले सरकारी कार्यालयहरूको सूचना प्रवाह प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने निर्णय गरेको छ।
बैठकमा जिल्लाभित्रका विभिन्न स्थानीय तह, सरकारी कार्यालय तथा सेवा प्रदायक निकायका सूचना अधिकारिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सूचना प्रवाहमा ढिलासुस्ती, वेभसाइट अद्यावधिक नहुनु तथा सूचनाको अव्यवस्थित व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको बताए।
उनले अधिकांश कार्यालयका वेभसाइट समयमै अपडेट नहुँदा नागरिकले आवश्यक सूचना पाउन कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै हरेक कार्यालयले कम्तीमा साप्ताहिक रूपमा वेभसाइट अद्यावधिक गर्नुपर्ने निर्देशन दिए। “सूचना लुकाउने प्रवृत्ति अब सह्य हुँदैन, नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउनु हाम्रो दायित्व हो,” उनले स्पष्ट पारे।
बैठकमा सूचना अधिकार ऐन २०६४ अनुसार सार्वजनिक निकायहरूले अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने विवरणहरू नियमित रूपमा सार्वजनिक गर्नुपर्ने विषयमा समेत जोड दिइएको थियो। त्यसअन्तर्गत कार्यालयको संरचना, सेवा प्रवाह प्रक्रिया, निर्णयहरू, बजेट तथा कार्यक्रमसम्बन्धी विवरण समयमै सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, कार्यालयमा रहेका कागजात तथा सूचनाहरूको वैज्ञानिक वर्गीकरण गरी डिजिटल अभिलेखीकरण लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यसले सेवाग्राहीलाई छिटो, सजिलो र विश्वसनीय रूपमा सूचना उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
प्रजिअले सूचना अधिकारिहरूलाई प्रविधिमैत्री बन्न आग्रह गर्दै आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी समेत दिए। साथै, सूचना प्रवाहमा कमजोरी देखिएका कार्यालयहरूको नियमित अनुगमन गरिने र लापरबाही भेटिएमा आवश्यक कारबाही समेत गरिने चेतावनी दिएका छन्।
बैठकमा सहभागीहरूले सूचना व्यवस्थापनमा देखिएका समस्या, चुनौती तथा सुधारका उपायहरूबारे आफ्नो धारणा राख्दै आगामी दिनमा समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
जिल्ला प्रशासन कार्यालयले यस्ता बैठकहरूलाई निरन्तरता दिँदै सूचना प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।










Discussion about this post