मोरङ। ग्लोबल मनी सप्ताहको अवसरमा नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले विराटनगरका विभिन्न कलेजका विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
हिमालय दर्शन कलेज, सिटी कलेज तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा फरक–फरक समयमा आयोजित कार्यक्रममा बीमाको महत्व, प्रकार, चुनौती, व्यवहारिक प्रयोग, नेपाली बीमा बजारको अवस्था तथा वित्तीय साक्षरताको आवश्यकताबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम मिलन पोख्रेलले गरेका थिए। कार्यक्रममा कोशी प्रदेश प्रमुख प्रीति देवले बीमाका सैद्धान्तिक तथा व्यवहारिक पक्षबारे जानकारी दिँदै प्राधिकरणको भूमिका, कर्तव्य र अधिकारबारे विद्यार्थी तथा शिक्षकलाई सुसूचित गराउने उद्देश्य रहेको बताइन्।
उनले नेपालको समग्र वित्तीय प्रणालीबारे जानकारी गराउँदै बीमा क्षेत्रको आवश्यकता र विद्यमान चुनौतीहरूबारे प्रकाश पारिन्। “बीमा क्षेत्रको विकासमा युवाहरूको सक्रिय सहभागिता आवश्यक छ,” उनले भनिन्, “यस्ता कार्यक्रमले विद्यार्थीलाई यस क्षेत्रमा आकर्षित गर्न सहयोग पुर्याउँछ।”
कार्यक्रमअन्तर्गत हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूमा उत्साह थपेको आयोजकले जनाएको छ। समापनका क्रममा सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै देवले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गरिन् र यस क्षेत्रमा भविष्यको सम्भावना उज्ज्वल रहेको बताइन्।
यसैबीच, प्राधिकरणले सञ्चालन गरेको निबन्ध लेखन प्रतियोगिताबारे समेत जानकारी गराइएको थियो। आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता प्राधिकरणले व्यक्त गरेको छ।










Discussion about this post