इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले सुनसरी खोलामा तटबन्ध निर्माण गर्नुपर्ने विषयलाई प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्। बाढी तथा कटानको जोखिम बढ्दै गएको भन्दै अध्यक्ष आजादले कोशी प्रदेश सरकारअन्तर्गत पर्यटन, वन तथा वातावरण मन्त्री इस्राइल मंसुरी तटबन्ध निर्माणको मागसहित औपचारिक अनुरोध गरेका हुन्।
अध्यक्ष आजादका अनुसार वर्षायाम सुरु भएसँगै सुनसरी खोलामा पानीको बहाव बढ्ने र त्यसले गाउँपालिकाका विभिन्न वडामा कटान तीव्र बनाउने गरेको छ। यसका कारण कृषि योग्य जमिन कटान हुने, घरधुरी विस्थापित हुने तथा स्थानीय पूर्वाधारमा क्षति पुग्ने जोखिम निरन्तर बढिरहेको उनले बताए।
उनले खोलाको तटीय क्षेत्रमा तत्काल तटबन्ध निर्माण नभए आगामी वर्षहरूमा अझ ठूलो मानवीय र आर्थिक क्षति हुने चेतावनीसमेत दिएका छन्। “स्थानीय बासिन्दा वर्षेनी बाढीको त्रासमा बस्न बाध्य छन्, स्थायी समाधानका लागि तटबन्ध निर्माण अपरिहार्य छ,” अध्यक्ष आजादले उल्लेख गरे।
यस विषयमा मन्त्री मंसुरीलाई ध्यानाकर्षण गराउँदै अध्यक्ष आजादले सम्बन्धित निकायमार्फत आवश्यक बजेट विनियोजन गरी तटबन्ध निर्माणको काम छिटो अघि बढाउन आग्रह गरेका छन्। उनले प्रदेश सरकारबाट समयमै पहल भएमा बाढीजन्य जोखिम न्यूनीकरण भई नागरिकको जिउधन र सम्पत्ति सुरक्षित हुने विश्वास व्यक्त गरे।
स्थानीयवासीले पनि लामो समयदेखि सुनसरी खोलामा तटबन्ध निर्माणको माग गर्दै आएका छन्। उनीहरूले प्रदेश सरकार र सम्बन्धित मन्त्रालयले यसलाई प्राथमिकतामा राखेर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
गाउँपालिकाले जोखिमयुक्त क्षेत्रको स्थलगत विवरण, क्षति विवरण तथा आवश्यक प्रस्तावसहित मन्त्रालयसमक्ष योजना पेश गरिसकेको जनाएको छ। साथै आगामी दिनमा प्रदेश सरकारसँग निरन्तर समन्वय गर्दै योजना कार्यान्वयनका लागि पहल जारी राख्ने अध्यक्ष आजादले बताए।










Discussion about this post