चिरौली । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ मा आयोजित प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाको खेलकुद विकास, युवाको प्रतिभा प्रस्फुटन तथा सामाजिक सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल खेल शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
फाइनल खेलमा वडा नम्बर ७ को रोलेक्स युवा क्लबले भोक्राहा नरसिंह वडा नम्बर ३ को टोलीलाई २५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो भने दर्शकको उल्लेख्य उपस्थितिले खेल मैदान थप उत्साहपूर्ण बनेको थियो।
प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न वडाका टोलीहरूको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै अनुशासित र प्रतिस्पर्धात्मक खेल प्रदर्शन भएको आयोजक टीक प्रसाद यादवले जनाएको छ।
प्रतियोगिताले स्थानीय युवालाई खेलप्रति आकर्षित गर्नुका साथै आपसी सहकार्य र मित्रता बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक समितिका संयोजक टीका प्रसाद यादवले बताए। उनले आगामी दिनमा यस्ता प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउँदै निरन्तरता दिइने समेत उल्लेख गरे।
समापन समारोह वडा नम्बर ७ का वडाध्यक्ष बौवालाल यादवको अध्यक्षता तथा प्रमुख अतिथि सुनिता कुमारी उराँवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
फाइनल खेल अवलोकन गर्न स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीले प्रतियोगितालाई गाउँपालिकाको खेलकुद विकासतर्फको सकारात्मक पहल भन्दै आगामी संस्करणलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न आयाेजक टीमका सदस्य दिपक यादवले माग गरेका छन्।
प्रतियोगिताले गाउँपालिकामा खेलकुदप्रतिको रुचि बढाएको र युवालाई सकारात्मक गतिविधितर्फ प्रेरित गरेको सहभागी खेलाडीहरूले बताएका छन्।










Discussion about this post