बुधबार राति २ बजेको आसपासमा सप्तकोसीले अस्थायी बाँध फुटाएर उदयपुरको बेलकाको बस्तीतिर सोझियो । मङ्गलबार दिउँसोदेखि नै कोसीको पश्चिमी क्षेत्रमा व्यापक कटान थियो ।
हुन त पश्चिमतिर कोसीले यो वर्ष मात्र कटान गरेको भने हैन । करिब ३ वर्षदेखि नै कोसीले पश्चिम भागमा कटान सुरु गरेको थियो । तर, कोसीमाथि न राज्यको ध्यान पुग्यो, न त कोसी नदी नियन्त्रणको जिम्मा पाएको भारतीय पक्षले नै पश्चिमी कटानमा ध्यान दियो ।
भारतीय पक्षले त झन् कोसीलाई पश्चिमतर्फ नै धार परिवर्तन गराउन चाहन्थ्यो । कोसी नियमित लयमा बगिरहेको बेला करिब ४ वर्षअगाडि च्यानलै खनेर कोसीलाई पश्चिम फर्काउन खोजेको थियो । त्यतिबेला भारतबाटै कोसीको च्यानल खन्न ट्याक्टरहरू झिकाइएका थिए ।
पश्चिम भागमा कोसी सार्न खोज्नु पनि भारतको आफ्नै स्वार्थ छ । २०६५ भदौमा कोसीले पूर्वी तटबन्ध भत्काउँदा भारतको बिहारमा ठूलो क्षति भएको थियो । यसो त नेपालमा पनि क्षति भने नभएको हैन । तर, नेपालको भन्दा भारतमा धेरै क्षति भएकाे थियो । पूर्वबाट कोसीले तटबन्ध भत्काउँदा नेपालको केही भाग हुँदै भारतीय बस्तीमा कोसी पुग्छ । तर, पश्चिमतर्फ कोसी सर्दा भारतलाई उत्रो नोक्सानी हुँदैन । पश्चिमतर्फ कोसी फुट्दा उदयपुरहुँदै सप्तरी जिल्लालाई बढी प्रभाव पर्छ । भारतीय बस्तीसम्म कोसी पुग्दैन । त्यसैले पनि भारतीय पक्षले कोसीलाई पश्चिम धकेल्न खोज्दै आएको थियो ।
स्थानीय ओमल चन्द्रवंशीका अनुसार कोसीलाई पश्चिमतर्फ सार्न ‘च्यानल’ खन्न खोज्दा पश्चिम तटमा रहेका स्थानीयहरूले विरोधसमेत गरेका थिए । तर, कोसीका बारेमा गुनासो सुन्ने नेपाली निकाय नभएकाले तत्कालीन विरोध सामसुम भयो ।
भारतीय पक्षले खनेको च्यानलले बिस्तारै कोसी पश्चिम सर्यो । कोसीको पश्चिमी किनारका टापुहरू बिस्तारै कटान लाग्दै गए । कोसीको कटान रोक्न स्थानीय पालिकाहरूले जहिल्यै सङ्घीय सरकार गुहार्थे । तर, भारतीय नियन्त्रणमा रहेको कोसीको विषयमा सङ्घीय मन्त्रीहरू पनि ‘चुँ’ गर्न सक्दैनन् ।
भारतीय पक्षहरूसँग लबिङ नगरे पनि नेता मन्त्रिहरू कोसी अवलोकन भनेर मनोरञ्जन गर्न नआउने गरेका भने हैनन् । कोसी नदीआसपासका रिसोर्टहरूमा बिदा मनाउन आएको समयलाई मन्त्रीहरूले कोसी नदी निरीक्षण भनेर कैयौँपटक प्रचारसमेत गरेका छन् ।
गत वर्ष तीव्र कटान भएपछि गृहमन्त्री बालकृष्ण खाँण सेनाको हेलिकोप्टर लिएरै कोसी कटान हेर्न पुगेका थिए । अहिले जहाँबाट फुटाएर कोसी बस्ती पुगेको छ, त्यही क्षेत्रको अवलोकनमा मन्त्री खाँण पुगेका थिए ।
हेलिकोप्टर लिएर पुगेका खाँण करिब ४० मिनेट जति कोसी किनारमा बसे । नदी नियन्त्रणका लागि स्थानीयहरू सामान्य बोराको बाँध लगाउँदै थिए । त्यहीँ पुगेर आश्वासन दिए भ्याए खाँणले । कटान नियन्त्रणका लागि बाँध निर्माण गर्नेदेखि स्थानीयहरूलाई सुरक्षित स्थानको खोजी गर्ने उनले बताए । सारमा उनले भनेका थिए, ‘नदी नियन्त्रणको दीर्घकालीन समाधान खोजिन्छ ।’
खाँण मात्र हैन, डेढ महिनाअगाडि पुगेका थिए प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्की । कर्मचारी र सुरक्षाकर्मीसहित पुगेका कार्कीसँग रिपोर्टिङमा पुगेका पत्रकारहरूको जम्काभेट भयो । पत्रकारसँग कुरा गर्दै कार्कीले कोसी नियन्त्रणका लागि प्रदेश सरकारले नीति तर्जुमा गर्दै गरेको बताए ।
कार्कीको पनि खोक्रो आश्वासन मात्र थियो त्यहाँ । हुन त सङ्घीय सरकारका ‘पावरफुल’ मानिएको गृह मन्त्रालयको नेतृत्व गर्ने गृहमन्त्रीले समेत आश्वासन दिएको ठाउँमा कार्कीको आश्वासन पूरा नहुनु कुनै नौलो विषय त थिएन ।
‘तर पनि अलि नजिकको सरकार भनेर केही आस जागेको थियो,’ स्थानीय मिसिलाल महतोले भएका थिएन, ‘पोहोर काठमाडौंबाट पनि मन्त्री (बालकृष्ण खाँण) आएका थिए तर हेरेर मात्र गयो । अहिले हामी अलि नजिकको सरकार भनेर आएको छ केही गर्ला कि ।’
Discussion about this post