मान बहादुर ठकुल्ला
टीकापुर, / कैलालीको टीकापुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले एक दिनमा गरेका काम तथा उपलब्धि लाई सार्वजनिक गर्न प्रतिशप्रर्धा गरेकाे पाईएकाे छ ।दुई दिन अघि नगरपालिकाका उप प्रमुख खड्क बहादुर शाहले नगरपालिकाले गरेका एक सय दिनका काम तथा उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए । जसमा नगरपालिकाले गरेका १५ बुद्दे काम तथा उपलब्धि सार्वजनिक गरेका थिए भने साेहि प्रतिबेदनमा २ वटा बुद्दा थप गरि अाज पत्रकार सम्मेलन गर्दै १७ बुदे काम तथा उपलब्धि नगर प्रमुख रामलाल डगाैरा थारुले सार्वजनिक गरेका छन । जसमा टीकापुर नगरपालिकाले टीकापुरका संस्थापक स्व. खड्गबहादुर सिँहको नाममा पार्क निर्माण गर्ने भएको छ । एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा टीकापुर नगर विकास समितिको कार्यालय रहेको क्षेत्रलाई खड्ग स्मृति पार्क निर्माण गर्ने जानकारी दिईएको छ ।
यहाँ तत्कालिन टीकापुर विकास समितिको कार्यालय रहेको थियो । समितिकै पहलमा टीकापुरको स्थापना भएको हो । स्व. सिँह लगायतको टीमले हालको टीकापुरको स्थापना गरेका थिए ।नगरपालिकाले टीकापुरलाई सम्पदा शहरका रुपमा विकास गर्ने प्रकृया अघि बढेको समेत जानकारी दिएको छ ।
विगत वर्षहरुमा चर्चामा रहेको बाहिरी चक्रपथको काम समेत नगरपालिकाले यसै आर्थिक वर्ष भित्र सुरु गर्ने जनाएको छ । उसले रेखाङ्कन र कालोपत्रेको काम चालु आर्थिक वर्षबाटै सुरु गर्ने घोषणा गरेको छ ।सो अवसरमा विगतका वर्षहरुमा हुने गरेको असारे विकासको अन्त्य गरी बैशाख महिनाको मसान्त भित्र योजना तथा कार्यक्रमहरु सम्पन्न गर्ने नीतिगत निर्णय भएको समेत जानकारी दिईयो ।
नगरपालिकाले टीकापुर पार्कलाई प्लाष्टिक रहित बनाउन प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्ने र विकल्पका रुपमा दुना टपरीको प्रयोग बढाउने योजना अघि सारेको छ ।
नगरपालिकाले टीकापुर क्षेत्रको समग्र विकासका लागि औद्योगिक ग्राम स्थापना सम्भाव्यता अध्ययन तथा जग्गाको सुनिश्चितता गरी लगानी सम्मेलन गरेर बाह्य लगानी भित्र्याईने बताएको छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले उज्यालो कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाईने बताए । उनले सो कार्यक्रम अन्र्तगत नगर क्षेत्र भित्रका विभिन्न चोकमा हैलोजन लाईट जडानको काम सुरु भैसकेको जानकारी दिए । उनले निकट भविष्यमा कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिईने बताए ।
उनले फोहोरलाई मोहरमा परिणत गर्न विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर फोहोर व्यवस्थापनको काम अघि बढेको जानकारी दिए ।
सो अवसरमा ढल निकास, बजारको सुन्दरतालाई ध्यानमा राखेर हरियाली बगैचा निर्माण, सार्वजनिक शौचालयको व्यवस्थापन, टीकापुर अस्पतालमा उपलब्ध गराईदै आएको बालरोग र स्त्री रोग विशेषज्ञ सेवालाई निरन्तरता लगायतका कामलाई निरन्तरता दिईने जानकारी दिईएको छ ।
Discussion about this post