इनरुवा । सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाको दक्षिवर्ती क्षेत्रमा पोखरी र जलासयको अभावमा स्थानीयले घर अगाडि नै कृत्रिम पोखरी बनाएर छठ पर्व मनाउने भएका छन् ।
जलासय, पोखरी, तलाउ, नहर समेतको पहुच नभएको क्षेत्र हरिनगर र देवनागञ्ज गाउँपालिकाका सयौ स्थानीयहरुले घर अगाडि नै कृत्रिम पोखरी बनाएर छठ पर्व मनाईरहेका छन् ।
कतै घर अगाडि नै कृत्रिम पोखरी बनाउन त कतै जलासयहरुमा छठ घाट बनाउने काममा स्थानीयहरु व्यस्त बनेकाले जिल्लाभरी छठपर्वको रौनक बढेको छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा यस क्षेत्रका जन–जन परिचालित देखिन्छन् । पर्वको प्रारम्भ बर्तालुले शुक्रबार ‘नहाय–खाय’ विधिबाट गरेका छन् । ‘नहाय–खाय’ विधि कात्तिक शुक्ल चौथी तिथिमा गरिन्छ । कात्तिक शुक्ल त्रितीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधिबाट पर्व शुरू गर्ने चलन छ ।
यसपालि तिथिको घटबढले शुक्रबार तृतीया र चौथी तिथि दुवैको भोग पर्नाले यहाँ मिथिलाको लोकपर्व छठ शुक्रबारबाट शुरू भएको हो । निरामिष (सात्विक) भोजन शुरू गरेर व्रत विधि शुरू हुने परम्परा छ ।
छठले गर्दा सुनसरीको इनरुवा, इटहरी, दुहवी , दुहवी, गढी, बर्जु सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।
छठ प्रारम्भसँगै धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिन थालेका छन् । पर्वमा महिला–पुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेको देखिन्छ । पर्वले घर–घरमा व्यस्तता बढाएको छ । श्रद्धा, निष्ठा र आत्मिक शुद्धिलाई अत्यन्त महत्व दिइने यस पर्वका पूजा, प्रसाद सामग्री ठकुवा (गहुँको पिठो र सख्खर मिसाएर शुद्ध घिउ (घ्यू)मा बनाइने खास परिकार), भुसुवा (कसार) र अन्य मिष्टान्न परिकार ढिकी, जाँतोमा कुटिएको र पिँधिएको चामल र गहुँको पिठोबाट नै पकाइने परम्परा छ ।
यी परिकार पकाइन चुलो पनि नयाँ प्रयोग गरिन्छ । पर्वमा सूर्यलाई अर्घ्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखालिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक सामग्रीमा पर्ने हुँदा पर्व विशेषमा यी कृषि उपजले राम्रो बजार पाउने गरेका छन् ।
Discussion about this post