इनरुवा । सुनसरीमा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएको छ । प्रदेश १ सरकारको पहलमा संचालनमा ल्याइएको कार्यक्रममा सुनसरीका चारवटा स्थानीय तह समेटिएका छन् ।कार्यक्रम प्रदेश एकको तीन जिल्ला सुनसरी, इलाम र संखुवासभामा संचालनमा ल्याइएको छ । सुनसरीको हकमा बर्जु, दुहवी,बराहक्षेत्र र भोक्राहा नरसिंह कार्यक्रममा समेटिएका छन् ।
सुनसरीको बर्जुको चिमडी, दुहवीको सोनापुर र बराहक्षेत्रको मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय सुनसरीले कार्यक्रम लागु गरि सकेको छ ।बराहक्षेत्र नगरपालिकाको वडा नम्वर ११ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधुवनमा स्वास्थ्य कार्यालय सुनसरीले मंगलबारबाट औपचारिक कार्यक्रमका बिच ग्रामिण आमा स्वास्थ्य कार्यक्रमको सुरुवात गरेको छ । भोक्राहा नरसिंहमा भने यसै साताबाट कार्यक्रमको थालनी गरिने कार्यालयले जनाएको छ ।मधुवनमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाई सहितको स्वास्थ्यकर्मीको टोलीले औपचारिक कार्यक्रमका बिच सेवा थालनीको घोषणा गरेको छ ।उक्त कार्यक्रममा स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने स्रोत साधन समेत हस्तान्तरण गरेको छ । औषधोपचार लगायत कार्यालय प्रयोजनका लागि आवश्यक भई माग भएका सामान हस्तान्तरण गरिएको स्वास्थ्य प्रमुख प्रसाईले बताए ।
मधुवन प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम लागु गर्नु पूर्व व्यवस्थापन समितिका पदाधिकारी सहित स्वास्थ्यकर्मी लगायतलाई अभिमूखिकरण कार्यक्रममा सामेल गराइएको थियो ।सो क्रममा पब्लिक हेल्थ नर्स सृजना लिङ्थेप र स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले कार्यक्रमको महत्व र आवश्यक्ता बारेमा प्रस्ट्याएका थिए । वडा अध्यक्ष केदार विष्ट, डाक्टर बिनोद साह लगायतको उपस्थितिका बिच कार्यक्रमको प्रभावकारीताको विषयमा जोड दिइएको थियो ।सो क्रममा ग्रामिण आमा स्वास्थ्य कार्यक्रम आमा र बच्चा दुवैको लागि लाभदायक रहेकाले त्यसको ठोस र प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार र स्वास्थ्य कार्यालय बिच समन्वयात्मक भूमिका आवश्यक रहेको औल्याइयो ।कार्यक्रमले सुरक्षित र भरपर्दो सेवा प्रवाहलाई सहज रुपमा जोड्ने बताइएको छ । स्वास्थ्य प्रमुख प्रसाईका अनुसार लागु कार्यक्रमले मातृ शिशु मृत्युदर घटाउनुका साथै सुत्केरी र गर्भवतीकालागि नियमित चेकजाँचको सहजतालाई समेट्ने छ । प्रसाईले भने, अल्ट्रासाउण्ड समेतको बन्दोवस्ती रहने छ । अक्सिजन सहितको वर्थिङ सेन्टरले आमा र बच्चालाई सुरक्षित राख्न मद्यत पुर्याउने छ’ ।प्रसुती प्रतिक्षालय निर्माण सँगै कुरुवा सहित खानपानको बन्दोवस्ती सहितको योजना समेतलाई कार्यक्रममा समेटिने प्रसाईको भनाई छ ।त्यसका अलावा सुत्केरी आमा र बच्चाको जाँचको लागि घरलौरी सेवा प्रदान गर्ने, गर्भवती र प्रसुती जटिलताको कारण आमा र नवजात शिशुलाई आकस्मिक प्रेषण गर्नु पर्ने भएमा सोही अनुरुपको बन्दोवस्ती मिलाउने जस्ता काम ग्रामिण आमा स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित हुने छन् । जसलाई स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व र गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचका रुपमा हेरेको जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीकी पब्लिक हेल्थ नर्स सृजना लिङ्थेपका अनुसार गर्भवती र सुत्केरीको हकमा सहज र सुरक्षित महसुस गर्ने वातावरण सृजना गराउदै आमा र बच्चाको स्वास्थ्य मजबुत बनाउनु कार्यक्रमको मुलभुत उद्देश्य रहेको छ । सोही अनुरुपको सेवा प्रवाहमा केन्द्रित रही कार्यक्रमको सेवा अघि बढाइने उनले बताइन् ।लिङ्थेपले कार्यक्रमले निःशुल्क एम्बुलेन्स सहितको उपचार सेवाको उपलब्धता समेत दिलाउने बताइन् । उनका अनुसार आमा स्वास्थ्य सुरक्षा कार्यक्रम लागु भएसँगै ग्रामिण भेगमै सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनका साधनको सहज उपलब्धता, विश्वसनीय ल्याब सेवा, दक्ष जनशक्ति व्यवस्थापन र विषयगत तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको व्यवस्थापन जस्ता कार्य थप सहज, सरल र विश्वसनीय बन्ने छ ।स्थानीय तवरमै स्रोत साधनको उपलब्धता सहितको दक्ष र अनुभवी स्वास्थ्यकर्मीबाट गुणस्तरीय स्वास्थ्योपचार सेवा प्रवाहमा आउँदा ग्रामिण भेगका महिलाहरुले झेल्दै आएका विभिन्न खाले स्वास्थ्य समस्या अन्त्य हुने स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठको भनाई छ ।श्रेष्ठले स्वास्थ्य कार्यालय सुनसरीले अनुगमन गरी प्रवाह हुँदै आएको सेवा र त्यसको गुणस्तरीयतालाई आधार मानी छनौटमा परेका प्राथमिक स्वास्थ्य केन्द्रमा आमा स्वास्थ्य कार्यक्रम संचालनमा ल्याइएको बताइन् ।
उनले शहरी भेगको दाँजोमा ग्रामिण भेगका महिलाहरुले बढी मात्रामा स्वास्थ्य समस्या र जोखिम झेल्नु परेको पाइने गरेकाले समेत सोही कुरालाई आधार मानी कार्यक्रम लागु गरिएको बताइन् । श्रेष्ठले ग्रामिण भेगमा सचेतना अभाव, आर्थिक अवस्था कमजोरी र अज्ञानता विद्यमान रहेकाले समेत आमा र बच्चाको सुरक्षाको लागि कार्यक्रम फलदायी सावित हुने बताइन् ।महिलाहरुको पाठेघरको समस्याका साथै अन्य रोग सम्वन्धि उचित परामर्श सहितको स्वास्थ्योपचार सेवा दिलाइने भएकाले समेत कार्यक्रम लागु रहेको नजिकको स्वास्थ्य संस्थामा गई सेवाको उपभोग गर्न स्वास्थ्य कार्यालय सुनसरीले सर्वसाधारण समक्ष आग्रह गरेको छ ।
Discussion about this post