काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रासायनिक मल कारखाना खोल्ने बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार गरेको एक कार्यक्रममा बोल्दै उनले सो क्रममा मन्त्रालयलाई आवश्यक पर्ने कुनै पनि सहयोग गर्न आफू तयार रहेको बताए ।
उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले हालै दिएको प्रतिवेदनमा नेपालमा मल कारखाना सञ्चालन गर्न सकिने र त्यसका लागि भारतबाट प्राकृतिक ग्यास ल्याउने उल्लेख गरेका थिए ।
नेपालमा केही वर्षमा बिजुली खेर जाने स्थिति आउने तर भारतबाट प्राकृतिक ग्यास ल्याएर मल कारखाना चलाउनु उचित नहुने विज्ञहरूले बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूले दिएको प्रतिवेदनको बचाउ गर्दै छिटो हुने भएकाले प्राकृतिक ग्यासबाट चल्ने उद्योग बनाउनुपर्ने बाध्यता भए पनि अब सरकार बिजुलीबाटै कारखाना खोल्ने निर्णयमा पुगेको बताए ।
प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीतिअनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको भनाइ छ ।
Discussion about this post