सुनसरी – मुलुकमा सुरु भएको तमासा प्रदेश १ मा समेत सुरु भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । ओली सरकारले संसद् नै विघटन गरेपछि त्यसैको निरन्तरता प्रदेश १ मा समेत गर्ने धम्की बाहिरीएको स्मरण गर्दै उनले देशमा तमासाको राजनीति सुरु भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरी इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सांसद पुनस्र्थापनाको विकल्प नरहेको बताए । नेता पौडेल संसद् विघटन बारेमा नेपाली कांग्रेसले अलकोतान्त्रिक र असंवैधानिक कदम भएको ठहर गरेको स्मरण गराएका थिए ।
वर्तमान प्रधानमन्त्री ओलीले चालेको कदमविरुद्ध नेपाली जनता एकजुट भएर लाग्नु पर्ने उनको तर्क थियो । संविधान र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस एकजुट भएर लाग्नुको विकल्प नरहेको भन्दै उनले पहिला संविधान जोगाउन सबैमा आग्रह गरे । अहिले केपी शर्मा ओलीको कदम संविधान विपरित रहेको कारण हाल घोषणा गरिएको निर्वाचनमा जानु समेत असवैधानिक हुने उनको तर्क थियो ।
प्रदेश १ को मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पास गर्न नेपाली कांग्रेसका नेताहरुलाई नेता पौडेलले आग्रह गर्दै कम्युनिष्टले आफैं घर फुटाएकाले कुनै पनि हालतमा कम्युनिस्टको पक्षमा ओलीका मुख्यमन्त्रीलाई सहयोग नगरी अविश्वासको प्रस्तावलाई पास गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
सुनसरीका अगुवा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली कांग्रेसमा कुनै गुट–उपगुट नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेसले सर्वसम्मतबाट संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निर्णय गरेको हुनाले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै संसद् पुनस्र्थापनाको विकल्प नरहेकोसमेत ठोकुवा गरे ।
सो अवसरमा उक्त भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल कम्युनिष्ट पार्टी दुई खेमामा विभाजन भएको बेला नेपाली कांग्रेसले आफ्नो रणनीति तय गरी अवसर प्राप्तिका निमित्त अग्रसर हुनुको विकल्प नरहेको बताएका छन् ।
प्रदेश १ को वर्तमान अवस्थालाई इंगित गर्दै नेता कार्कीले दुई नेकपा भएको अवस्था प्रदेश १ भित्र कांग्रेसले अवसरका निमित्त अगाडि बढ्नुपर्ने समेत उनले सुझाए ।
सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियान नेकपाको सरकारले चलाए पनि त्यो नाराअनुसार नेकपाले काम काम गर्न नसक्दा अहिले जनतामाझ कांग्रेसको विकल्प नरहेको उनको भनाइ थियो । ‘नेपाली कांग्रेसले भाषणमा मात्र होइन कामसमेत गरेर देखाउनुपर्छ,’ उनले भने, ‘विकासका गतिविधिलाई तीव्रता दिनुपर्नेछ ।
जनताको बीचमा गएर छलफल गर्न आवश्यक रहेकोसमेत उनले बताए । सवैधानिक परिषदमा नियुक्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कुनै हात नरहेको बताउँदै कार्कीले गलत प्रचारवाजी गरेर सभापतिलाई बदनाम गर्न खाजेको समेत स्पष्ट पारे ।
नेता कार्कीले अहिले विकासका लागि राजनीतिको मौसम मुलुकभरि नै छाएकाले विकासविनाको राजनीति नगर्नसमेत सबैलाई सुझाव दिए । आफ्नो निर्वाचन क्षेत्रका जनतामाझ निरन्तर पुगेर जनताको दुःख र समस्या समाधानको अभियानमा लागेकै कारण जनताबाट प्राप्त गरेको स्नेह र मायाको खुलेर प्रशंसा गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला, पूर्व सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, ज्योति सुब्बा, कांग्रेसका केन्द्रीय सदस्यहरु, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, नेतृत्वकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।सो कार्यक्रममा रामधुनी नगरपालिकाका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
Discussion about this post