सुनसरी — “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नाराका साथ भोक्राहा नरसिंह गाउँपालिकामा रोजगार रणनीति तजमा अद्यावधिक तथा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका अध्यक्ष, जनप्रतिनिधिहरू, विभिन्न वडाका सदस्यहरू, स्थानीय रोजगार संयोजक, नागरिक समाजका प्रतिनिधि तथा युवाहरूको उत्साहजनक सहभागिता रह्यो
कार्यक्रमको औपचारिक उद्घाटन गर्दै पालिका अध्यक्ष अजमल अख्तर आजादले भने,
“गाउँपालिकाले स्थानीय जनशक्ति र सीपको सदुपयोग गर्दै युवालाई आफ्नो गाउँमै रोजगार सिर्जना गर्ने दीर्घकालीन योजना बनाएको छ। यो छलफल त्यसैको थालनी हो। योजना किताबमा सीमित नरहोस् भन्ने हाम्रो प्रयास हो।”
अध्यक्ष आजादले विगतमा सञ्चालन भएका रोजगारमूलक कार्यक्रमहरूको समिक्षा गर्दै आगामी दिनमा सशक्त रणनीति निर्माण, कार्यान्वयन र अनुगमनप्रति गाउँपालिका गम्भीर रहेको स्पष्ट पारे। उनले स्थानीय सीपयुक्त जनशक्तिको अभिलेख तयार पार्ने, सीप अभाव भएका युवालाई तालिम दिने र रोजगारमैत्री वातावरण बनाउन विभिन्न निकायहरूसँग सहकार्य गरिने बताए।
कार्यक्रममा सहभागी वक्ताहरूले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न कृषि, साना उद्योग, ग्रीन एनर्जी, सूचना प्रविधि, वैदेशिक रोजगारी अभिमुखीकरण जस्ता क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। छलफलमा प्राप्त सुझावहरूलाई रणनीति अद्यावधिकमा समावेश गरिने आयोजकको भनाइ छ।
गाउँपालिकाको आयोजनामा सम्पन्न यो कार्यक्रमले आगामी दिनमा स्थानीय युवा रोजगारी योजनामा व्यावहारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ।














Discussion about this post