इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका गाँउ कार्यपालिकाको कार्यालय हरिनगरा सुनसरीमा कार्यरत आर्थिक प्रशासन शाखा प्रमुख लेखापाल रञ्जित कुमार मेहता एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन ।
इनरुवा नगरपालिका १ नम्बर वडामा स्थायी बसोबास भएका रञ्जित कुमार मेहताले सिराहा जिल्लाकी एक युवतीलाई इटहरी उपमहानगरपालिकामा रहेको एक होटलमा लगेर जबरजस्ती गरेपछि पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखी प्रहरीले मेहता विरुद्धको जबरजस्ती करणी मुद्धाको अनुसन्धान गरिरहेको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय इटहरीले जबरजस्ती करणी मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीमार्फत सुनसरी जिल्ला अदालतबाट दुईपटक म्याद थप गरि पुनः तेस्रो पटक म्याद थपका लागि आइतबार अदालत समक्ष ल्याएको छ ।
प्रहरी स्रोतका अनुसार लेखापाल मेहताले पीडित युवतीलाई ललाई फकाई इटहरी ल्याएर एक होटलको कोठामा राखी पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनी पक्राउ गर्न प्रहरी टोलीले खोजी गरिरहँदा उनी प्रहरीबाट लुक्दै आएका थिए ।
करिब तीन महिना अगाडिको जबरजस्ती करणी घटनामा उजुरी परेपछि मेहताले हरिनगर गाउँपालिकामा आर्थिक प्रशासन शाखा प्रमुख हैसियैतमा कामकाज भने गर्दै आएका थिए ।
प्रहरीले आरोपितलाई पक्राउ नगरि छाडिदिएको भन्दै पीडितका तर्फबाट प्रहरीको माथिल्लो निकायमा दवाव बढेपछि प्रहरीले १५ दिन अगाडि उनलाई इनरुवाबाट नियन्त्रणमा लिएको थियो ।
पीडित निकट स्रोतका अनुसार मेहताले राजनीतिक पहुँचका आधारमा घटनालाई गुपचुप राखी युवतीलाई दवाव दिएर केही रकम दिएर मिलाउन तीन महिनासम्म प्रयास गरेपनि उनी सफल हुन सकेका थिएनन् ।
पीडित युवतीले आफुलाई ललाई फकाई मेहताले जबरजस्ती करणी गरेको हुँदा कानुनी न्याय बाहेक अन्य कुनै सम्झौता नगर्ने घटनामा मिलापत्र कुनै सर्तमा नगर्ने अडान लिदै प्रहरीको माथिल्लो निकायमा दवाव दिएपछि मेहतालाई प्रहरीले पक्राउ गरेको बताइन्छ ।
स्राेतका अनुसार मेहतालाई ति युवतीलाई जागिर लगाई दिने र बिवाह गर्ने भन्दै ललाई फकाई गरेर इटहरीसम्म लिएर गएका थिए । इटहरीमा रहेका दुईवटा होटलमा कोठा बुक गरेका मेहताले युवतीलाई त्यही लगेर पटक–पटक बलात्कार गर्दै आएका थिए ।
पीडित युवतीले घटनाको उजुरी प्रहरी समक्ष दिएपछि उनका परिवारमा र युवतीलाई समेत उजुरी फिर्ता लिन राजनीतिक नेतृत्व, जनप्रतिनिधिका साथै मेहता निकट व्यक्ति र नातेदारहरुले लामो समयसम्म दवाव दिदै आएका थिए।
स्रोतका अनुसार सुनसरीको दक्षिणवर्ती क्षेत्रमा पीडक पक्षले पीडित पक्षलाई दवाव दिएर बलात्कारको घटना मिलापत्र गराउने प्रचलन रहेकाले यस घटनासमेत सकेसम्म मिलापत्र गराई उजुरी फिर्ता लिन बाध्य पार्ने योजना सफल हुन नसकेपछि पुनः मुद्दामा युवतीलाई कमजोर बनाएर अदालत समक्ष कागजपत्र लैजाने तयारीमा उक्त पक्ष लागेको बताइन्छ ।
Discussion about this post