काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा उम्मेदवार बालेन शाह अत्यन्तै ठूलो मतान्तरसहित विजयी भएका छन्। उनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै आफ्नो जित सुनिश्चित गरेका हुन्।
शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन्। ओलीले यस निर्वाचनमा १८ हजार ७३४ मत मात्रै प्राप्त गरे। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरियाले १ हजार ८२१ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले १ हजार ४६१ मत पाएका छन्।
ओलीको प्रभावशाली राजनीतिक आधार मानिने झापा–५ मा शाहको जितलाई निकै चासोका साथ हेरिएको छ। लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकामा रहेका ओली यसअघि झापाका विभिन्न निर्वाचन क्षेत्रबाट ६ पटक विजयी भइसकेका थिए। दुई पटक नेपालको प्रधानमन्त्रीसमेत भइसकेका उनी एमालेका अध्यक्षका रूपमा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। त्यसैले पनि उनको बलियो क्षेत्रमै शाहले जित हासिल गर्नु नेपाली राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा लिइएको छ।
यस जितसँगै बालेन शाहले पहिलो पटक संघीय संसदको यात्रा सुरु गरेका छन्। यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पद जितेर चर्चामा आएका शाह अब राष्ट्रिय राजनीतिमा पनि प्रवेश गर्न सफल भएका छन्।
युवापुस्तामाझ लोकप्रिय छवि बनाएका शाहको विजयलाई नयाँ पुस्ताको राजनीतिक सहभागिता र परिवर्तनको संकेतका रूपमा समेत व्याख्या गरिएको छ। साथै स्वतन्त्र राजनीतिक शक्तिप्रति जनविश्वास बढ्दै गएको सन्देशका रूपमा पनि यस परिणामलाई विश्लेषकहरूले हेरेका छन्।














Discussion about this post