इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ चन्दन मेहताले १ बिधा क्षेत्रफलमा रोपेका काउली बेच्नका लागि तयार भएको छ । तर, बिक्री गर्ने समय घर्केर काउली बिग्रिन थाले पनि उनले खरिदकर्ता पाएका छैनन्। दुई साताअघि प्रति किलो ५० देखि ५५ रुपैयाँमा बिक्री भैरहेको काउलीको मूल्य ह्वात्तै घटेर ५ देखि ८ रुपैयाँमा झरेको छ ।
‘काउली उत्पादन गर्दासम्म लागत खर्च प्रतिकिलो करिब २० रुपैयाँ पुगेको छ’ उनले भने, ‘लागत खर्च नै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नु परेको छ ।’ सिँचाइ, मलखाद, कीटनाशक, मजदुरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नु पर्दा घाटा लागेको उनले बताए ।
विगतका वर्षमा व्यापारीहरु काउली खरिद गर्द गाउँमै आउने गरे पनि अहिले व्यापारी नआएको किसान श्यामदेव मेहताले बताए । ‘खेतमा धेरै काउली लगाएका छौं । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नु परेको छ,’ उनले भने, ‘ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दा समेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।’ ढुवानीका साधानको अभाव र थोरै मूल्यमा बिक्री गर्नु पर्ने अवस्थाले निराश भएको बताए ।
‘उत्पादन भएको काउली लगायतको तरकारी बिक्री गर्न निकै अप्ठ्यारो छ,’ उनले भनिन्, ‘उत्पादन गर्छौं, बजार भाउ पाउँदैनौं । भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. २ अकाहामा उत्पादन भएको तरकारी बेच्न् इनरुवाको रामजानकी गुठीमा बिहानै आउनु पर्छ । तरकारी तथा फलफुल गुद्रीमा बिक्री गर्न बिहानै आउँछु । उत्पादन गरेको तरकारी बेच्न् इनरुवा बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा त्यहाँ पुर्याउन सकिँदैन ।’ बिक्री नभएर खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उनको गुनासो छ ।
Discussion about this post