काभ्रे / नेपाल कम्युनिष्ट पार्टी – माओवादी केन्द्र काभ्रेले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि बिहीबार माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको हो।
सर्वोच्चले साविककै पार्टी कायम गरेपश्चात् पार्टी कार्यालयविहीन बनेको माओवादी केन्द्रले जिल्लाको बनेपा–८ स्थित परिवार नियोजन चोकमा पार्टी कार्यालय स्थापना गरेको हो। पार्टी एकताअघि माओवादी केन्द्रको कार्यालय बनेपाको तीनदोबाटोमा थियो।
माओवादी केन्द्र काभ्रेका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को बोर्डसँगै झण्डा समेत राखेका छन्। पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र, काभ्रेको नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने जनाइएको छ।
पार्टी कार्यालय उद्घाटन गर्दै साविक माओवादी केन्द्रकी जिल्ला संयोजक रुकु चौलागाईं ९रचना० ले सर्वोच्च अदालतको निर्णय नेकपा माथिको कानुनी ‘कू’ भएको बताइन्। अनावश्यक निर्णय राजनीतिक पूर्वाग्रह र कम्युनिस्ट आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकांक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उनले टिप्पणी गरिन्।
त्यस्तै, माओवादी केन्द्र काभ्रेका कार्यालय सदस्य इन्द्रबहादुर थिङ – छिन्ताङले पार्टी र पार्टीका जनवर्गीय संगठनहरुले कार्यालय स्थापना भएसँगै पहिलेकै नाममा पूर्ववत् रुपमै आफ्ना गतिविधि सुरु गरिसकेको बताए।
सर्वोच्चको फैसलाले एमाले र माओवादी भनेर यकिन गरिदिँदै दुवै दललाई पूर्ववत् अवस्थामा पुर्याइदिएका कारण कानुनी रुपले माओवादी केन्द्रको नाममा फिर्ता भएको उनको भनाइ छ। त्यसैगरी अर्का कार्यालय सदस्य दैवलाल घिसिङ -अनुशीलले केन्द्रले अब आफ्नो पहिलो कार्यालय सञ्चालन गरेर माओवादी संस्थागत रुपमा अगाडि बढेको बताए।
कार्यालयमा पार्टीको बोर्ड राख्न संयोजक चौलागाईं, संविधानसभा सदस्य तेजबहादुर मिजार, कार्यालय सदस्य छिन्ताङ, अनुशील, ज्वाला लामा, कल्पना लामा, मीना तामाङ – अनु, होमबहादुर खुलाल, अविरल जिम्बालगायत नेता तथा कार्यकर्ताहरु पुगेका थिए।
पार्टी एकताको समयमा बनेपा–५ स्थित भीमसेनमार्गमा रहेको साविक नेकपा एमालेको कार्यालयबाट नेकपाको नियमित काम कारबाही सञ्चालन गर्दै आएको थियो। तर अदालतको फैसला लगत्तै नेकपा एमालेका नेता तथा कार्यकर्ताले कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका थिए।
व्यवहारिक र राजनीतिक रुपमा पार्टीमा विभाजन आएपछि दुवै समूहले आआफ्नै हिसाबले पार्टी कार्यालय प्रयोग गर्न थालेका छन्।
Discussion about this post