इनरूवा । सुनसरीमा आयोजित बर्जु महोत्सवमा भएको तोडफोड र आगजनीमा आयोजकले कार्यक्रमलाई लोकप्रिय बनाउन आफूखुशी भारतीय भोजपुरी कलाकार खेसारीलाल यादवलाई आमन्त्रण गरिएको कारण तनावको स्थिति बनेकाे छानबिन समितिले निष्कर्ष निकालेको छ ।
समितिले छिमेकी मुलुकका लोकप्रिय कलाकारलाई ल्याउँदा उनको सुरक्षार्थ कतै सिफारिस नगरिएको पनि भनिएको छ । ‘सिफारिसमा उल्लेख नभएपनि कार्यक्रमलाई लोकप्रिय बनाउन आयोजक तथा प्रयोजनकले आफूखुशी यादवलाई आमन्त्रण गरेको देखिन्छ’ समितिको प्रतिवेदनमा भनिएको छ ।’
साथै सुरक्षाकर्मीले बल प्रयोग गरेका कारण मानवीय क्षति टरेको सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मीले बल प्रयोग नगरेको भए थप अप्रिय घटना हुनसक्ने निष्कर्ष निकालिएको हो ।
गत २३ पुसदेखि भएको महोत्सवको अन्तिम दिन ४ माघमा भोजपुरी कलाकार यादवलाई बोलाइएको थियो । यादव दिउँसो १२ बजे आउने भन्दै मेला आयोजक समितिले अग्रिम टिक विक्री गरेको थियो । तर प्रशासनले उनलाई आउन अनुमति नदिएपछि आक्रोशित भिडले स्टेज तोडफोड तथा चारवटा सवारीसाधनमा आगजनी गरेको थियो ।
घटनापछि गृह मन्त्रालयको निर्देशनमा बनेको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल नेतृत्वको छानबिन समितिले आगजानी तथा तोडफोडको घटना योजनाबद्ध नभइ भिडको मनोविज्ञानकै कारण भएको निष्कर्ष निकालेको हो ।
घटनामा यादव र उनको कलाकार समूहले चढेको दुई वटा गाडी र नम्बर नखुलेका २ वटा गरी चार वटा गाडीमा आगजनी भएको भनिएको छ । साथै, प्रतिवेदनमा कोभिड–१९ संक्रमणको व्यवस्थापन सम्बन्धी आदेशविपरीत छिमेकी देशका कलाकारलाई निमन्त्रणा दिनु पनि गलत भनिएको छ ।
Discussion about this post