इनरुवा। सुनसरीको भूमिसुधार तथा मालपोत कार्यालयले मोही हकका मुद्दामा एकतर्फी रुपमा फैसला गरेको आरोप लागेको छ। रामधुनी नगरपालिका-२ मा रहेको श्याम बाबा राइस एण्ड फ्लोर मिल प्रालीको दुई कित्ता जग्गामा रहेका मोहीको उपस्थिति बिना नै भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीले मोही नामसारीको फैसला गरेको हो।
रामधुनी-२ का मोही कुसुमलाल बातँर र कोशियादेवी सरदारले आफुहरुले मोही प्रमाणपत्रसहित जग्गाको हक अधिकार माग गर्दै दायर गरेको मुद्दामा कार्यालयले श्याम बाबा राइस एण्ड फ्लोर मिल प्रालीको पक्षमा एकतर्फी रुपमा फैसला गरेको आरोप लगाएका छन्।
कुसुमलाल बातँरका अनुसार, २०८१ जेठ ३० गतेको पेशीमा बोलाइएको थियो। बिहान १० बजे कार्यालय पुग्दा मुद्दा फैसला भइसकेको जानकारी पाउँदा उनीहरुलाई उपस्थिति बिना नै फैसला गरिएको थाहा भयो। उनीहरुले १३ कठ्ठा र ६ कठ्ठा जग्गामा मोही हकको दावी गर्दै नामसारी मुद्दा दायर गरेका थिए। जेठ १६ र २३ गते तारेख लिएर जेठ ३० गते कानुन व्यवसायी सहित कार्यालय पुगेका थिए।
मोही कुसुमलाल बातँर र कोशियादेवी सरदारको अनुसार, भूमिसुधार तथा मालपोत कार्यालयले उनीहरुको मोहीयानी हक नपुग्ने फैसला गरेको छ। तर, गत २०८० चैत महिनामा श्याम बाबा राइस एण्ड फ्लोर मिल प्रालीसँगको मुद्दामा ४ बिगाहा जग्गामा २ बिगाहा जग्गा मोहीयानी हक वापत पाएको थियो। एउटै जग्गाधनी र एउटै मोहीको फरक कित्तामा दुई फरक फैसला गरिएकाले कार्यालयको मिलोमतो भएको आरोप लगाएका छन्।
भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीकी सुब्बा प्रमिला ओझाले भने मोही मुद्दाको फिरादपत्र दायर गर्ने व्यक्ति कार्यालयमा दिउँसो १२ बजे मात्र आएको बताएकी छिन्। उनका अनुसार, कार्यालय प्रमुखले दुवै वादीको फायल अध्ययन गरि दुई घण्टा अगाडि नै फैसला गरेको थियो।
Discussion about this post